नयाँ बुलन्द
इलाम : ८८ औं समाज सुधार दिवस जिल्लाभर भव्य रूपमा मनाइएको छ । यसै सन्दर्भमा जिल्लाको पश्चिम फाकफोकथुम गाउँपालिकाको वडा नं. ७ स्थित सिद्ध किराँत हाङसाम युमा माङहिममा भव्य कार्यक्रमको आयोजना गरियो ।
सिद्ध किराँत हाङसाम युमा माङहिमको आयोजनामा रूपटारमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रबाट किराँत धर्मावलम्वीहरूको सहभागिता रहेको छ ।
किराँत धर्मका महागुरू फाल्गुनन्दले वि.सं.१९८८ सालमा समाज सुधारका लागि ७ बुँदे सत्य धर्म मुचुल्का तयार पारेर लागू गरेपछि अहिले पनि त्यसलाई किराँत धर्मावलम्वीहरूले अनुशरण गरिरहेको पाइएको छ । समाज सुधारको निम्ति ७ बुँदे मुचुल्का तयार गरी लागू गरेको हुनाले त्यसकै स्मरणमा समाज सुधार दिवस मनाइएको आयोजक समितिका अध्यक्ष पञ्चबहादुर योङहाङले बताए ।
सो अवसरमा माङ्गेना सेवा समितिका अध्यक्ष केहरसिंह योङहाङले अबका केही वर्षमा सबै जातजाति, धर्म, भाषा, संस्कृति मान्ने मानिसहरू एकजुट हुने स्थिति आउने भएकाले अहिंसाको बाटोमा लाग्न आग्रह गरे ।
कार्यक्रममा फाकफोकथुम गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरूलाई सिद्ध किराँत हाङसाम युमा माङहिमको तर्फबाट सम्मान गरियो । गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठ, माङहिम (मन्दिर) का अध्यक्ष पञ्चबहादुर योङहाङ र विशेष अतिथि केहरसिंह योङहाङले सम्मान पत्र प्रदान गरे ।
गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठले मन्दिर निर्माणका लागि गाउँपालिकाको तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले आफ्ना बुबा र दाजुको स्मृतिमा मन्दिरसम्म पुग्ने मोटरबाटो निर्माण गरिदिने बताए ।
माङहिमका अध्यक्ष पञ्चबहादुर योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी दिलबहादुर योङहाङ, वडाध्यक्ष डिकबहादुर थापा, गाउँकार्यपालिका सदस्य चन्द्र बर्देवा, जनकल्याण माविका प्रअ दुर्गाबहादुर योङहाङ, नेकपा माओवादी केन्द्रका रविन राई, किराँत धर्मका पूर्णबहादुर कार्कीडोलीलगायतले बोलेका थिए ।




















































