कमाउन विदेश गएका प्रेमबहादुर जेल परेपछि परिवार बिचल्लीमा

राम योङहाङ

दानाबारी (इलाम) : पुरानो हुँदै गरेको घरमा सात दशक पूरा गरेका सासुससुरा, डेढ वर्षीय छोरा र ५ वर्षीया छोरी सहितको परिवारको बोझ छ इलाम माई नगरपालिका ४ दानाबारीकी २९ वर्षीया सरीता राईलाई । बिहान बेलुकाको छाक टार्न त समस्या छ नै, परिवारका कोही सदस्य बिरामी पर्दा सबैभन्दा बढी समस्या हुने बताउँछिन् सरीता राई ।

जसोतसो विदेशमा कमाएर घरखर्च धान्दै आएका सरीताकी पति प्रेमबहादुर राई विदेशमै जेल परेपछि उनको परिवार विचल्ली बनेको छ । सरिता आफ्नो पतिको बारेमा सम्झदा निक्कै भाबुक बन्छिन् । ‘परिवारका लागि कमाउने एकमात्र पति विदेशमा नै जेल परेपछि अहिले घर चलाउन एमदमै समस्या परेको छ’ सरीता भन्छिन्, ‘हजुरहरुले प्रयास गरिदिनुहोस् ।मलाई सम्पति चाँहिदैन । परिवार चलाउने पतिलाई उकासेर घरसम्म ल्याउने वातावरण बनाईदिनसुहोस् ।’

घरमा कोही नयाँ मान्छे आउँदा पनि पतिको केही सुखद खबर आयोकी भन्ने लागेर होला हतारहतार बाहिर निस्किन्छिन् र आफ्नो बिलौना पोख्न थाल्छिन् । उनले घरमा आउने सबैलाई आफ्नो पतिलाई घर फर्काउन सहयोग गर्न आग्रह गर्ने गर्दछिन् । यसरी सरीताले विलौना गर्न थालेको २ वर्ष वित्न लाग्यो । तर उनको पति जेलमुक्त भएका छैनन् । सरीताकी पति प्रेमबहादुर राई चोरीको आरोपमा बिगत २३ महिनादेखि साउदी जेलमा कस्टकर जीवन बिताईरहेका छन् ।

कमाउन विदेश गएका छोरा उतै जेलमा परेको खबर पाएपछि प्रेमबहादुरका ७२ वर्षीय पिता लोकबहादुर समेत चिन्तित छन् । ‘बुढेसकालमा छोराले सुखमा राख्लाकी भन्ने आशा थिए’ लोकबहादुर भन्छन्, ‘अहिले उ उतै जेलमा छ रे । तपाईहरुले त्यसलाई घर फर्काउन सहयोग गरिदिनुहोला ।’ अढाई वर्षीय नातीलाई काखमा खेलाउँदै गरेका लोकबहादुरले यी बचको भविश्य के हुन्छ भन्ने चिन्ताले पिरोलेको बताए ।

डेढ वर्षीय नातिका साथमा प्रेमबहादुरका पिता लोकबहादुर राई । तस्विर : राम योङहाङ

यसरी पुगे प्रेमबहादुर राई साउदी जेलमा

पहिलोपटक प्रेमबहादुर १२ जुन सन् २०१२ मा क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौंबाट साउदी अरबको रियादस्थित अल सहलावी होल्डिङ कम्पनीको गाडी (लहरी) चालकको रूपमा साउदी गएका थिए । ४ सेप्टेम्बर सन् २०१५ मा उनी घर आइ पुनः १ जनवरी २०१६ त्यही कम्पनीमा कामका लागि गएका थिए । ३१ मार्च २०१६ का दिन लहरीमा सामान लिएर जाँदै गर्दा कम्पनीबाट १० किलोमिटर टाढा रियादको जनदिया पुगेपछि प्रेमबहादुर गाडी पार्किङ स्थलमा रोकेर साथी भेट्न गएका थिए । त्यहीबेला गाडि हरायो ।

गाडी हराएको दुई दिनपछि अगाडिको सिसा फोरिएको अवस्थामा रित्तो ट्रक जनद्रियाबाट १० किलोमिटरको दूरीमा रोमा भन्ने स्थानमा फेला परेको प्रहरी रिपोर्टमा उल्लेख रहेको प्रेमका दाजु चक्रबहादुरले जानकारी दिए । यही क्रममा प्रेमबहादुरलाई पक्राउ गरी दुई महिना जेल र ५० कोर्रा सजाय दिएको थियो ।

सो सजाय भुक्तान गरी घर फर्कने तयारीमा कम्पनीले आफूहरूले निर्देशन दिएको बाटो बदलेको र १३ घण्टा सडकमा बिताएको भन्दै चालक दोषी रहेको दाबी गर्दै अदालतमा तीन लाख १० हजार रियाल (नेपाली ९५ लाख) क्षतिपूर्ति दाबी गरेको थियो ।

विदेशका कुद्ने गाडीमा जिपिएस प्रणाली हुने भएकाले कसले र किन चोरेर लग्यो भन्ने जानकारी पाइने भएता पनि कम्पनीले निर्दोष भाइलाई फसाएको दाजु चक्रबहादुरको आरोप छ ।

भाइलाई र नेपाली दूतावासलाई कुवेतबाट फोन सम्पर्क गर्दागर्दै महिनाको आधा तलब सकिने गरेको चक्रबहादुरले गुनासो गरे । उनले साउदीमा रहेको नेपाली राजदूतावासलेसमेत आफ्नो भाई रिहाइको लागि खासै चासो नराखेको बताए ।

रिहाईका लागि सरकारले चासो नदिएको सरिताको गुनासो

प्रेमबहादुरको रिहाइका लागि सरकार, परराष्ट्र मन्त्रालय र साउदी अरबस्थित नेपाली दूतावास गम्भीर नभएको भन्दै अहिले देश तथा विदेशमा प्रेमबहादुर राई बचाउ अभियान संचालन गरेर रकम संकलन गर्न थालिएको छ । प्रेमबहादुरले ९५ लाख रुपैयाँ रकम नबुझाएसम्म कारागारनै बस्नुपर्ने भएकाले उनका जीवन रक्षाका लागि अभियान सञ्चालन भईरहेको हो ।

प्रेमबहादुरकी पत्नी सरिता भन्छिन् ‘सरकारले पहल गरेर उद्धार गर्छ भन्ने आशामा कति पटक मन्त्रालय धाएँ । तर अलिकति पनि सहयोग पाइन ।’ देश तथा विदेशमा रहेका नेपालीहरुको सक्रियतामा अभियान सञ्चालन गरी रकम संकलन हुनुले आफ्नो पति चाँडै घर फर्कने आशा पलाएको उनी बताउँछिन् ।

प्रेमबहादुरको पीडादायी अवस्थाको समाचार नयाँ बुलन्दसहित विभिन्न सञ्चारमाध्यममा बाहिर आएपछि राट्रिय तथा अन्तराट्रिय स्तरमा प्रेमबहादुर राई बचाउ अभियान समिति गठन भई रकम संकलन हुँदै आएको हो । हालसम्म बिभिन्न समिति मार्फत करिब ४० लाख संकलन भएको सरीताले बताइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार