मलेशियामा कार्यरत नेपालीद्वारा ‘प्रेमबहादुर राई बचाउ अभियान’ लाई सहयोग

नयाँ बुलन्द

इलाम : तोकिएको जरिवाना रकम तिर्न नसक्दा साउदी जेलमा रहेका माई नगरपालिका ४ दानाबारीका प्रेमबहादुर राईको उद्धारका लागि मलेशियामा कार्यरत नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

प्रेमबहादुरको उद्धारका लागि मलेशियाको केहेलमा कार्यरत तीन सय नेपालीबाट संकलित एक लाख ७० हजार पाँच सय ७८ रुपैयाँ प्रेमबहादुर राई बचाउ अभियानलाई प्रदान गरिएको हो । सो रकम मलेशियामा नेपाली कामदार भीमराज राई, समिता चाम्लिङ, भक्त्तमान खम्बु र नरेन्द्र लिम्बुको सहयोगमा माई नगरपालिका ६ का बुद्धराज योङहाङ लिम्बूले संकलन गरी नेपाल पठाएका थिए ।

पीडित प्रेमबहादुरको घरमा आयोजित कार्यक्रमा १ नम्बर प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा (रमण) ले मलेशियामा कार्यरत नेपालीबाट संकलित रकम पीतितका परिवारलाई हस्तान्तरण गरे ।

हस्तान्तरण कार्यक्रममा प्रदेशसभा सदस्य शर्माले पीडित राईलाई उद्धार गरी नेपाल फर्काउन पहल गर्ने परिवारलाई आश्वासन दिए । उनले ब्लड मनि सहयोग स्वरुप सरकारसँग सहयोगको सक्दो पहल गर्ने बताए । वैदेशिक रोजगारीमा जाने नेपालीहरु आपतमा पर्दा राज्यबाट समेत सहयोग हुने उल्लेख गर्दै उनले राईको पीडामा आफ्नो पनि सहयोग रहने बताए । कार्यक्रममा माई नगरपालिकाका प्रमुख दिपककुमार थेवेले प्रेमबहादुर राईलाई नेपाल फर्काउन स्थानीय सरकारले सबैसँग आग्रह गरिरहेको बताए ।

सन् २०१२ मा साउदी छिरेका प्रेमबहादुर राई विदामा घर आएर पुन: २०१६ मा साउदी गएका थिए । एक कम्पनीको गाडी चलाउने क्रममा उनले चलाएको गाडीबाट सामान चोरी थियो । गाडीमा रहेको सामान चोरी भएपछि उनलाई दोषी ठहर गर्दै अदालतले दुई महिना जेल र ५० कोर्रा सजाय दिएको थियो ।

सो सजाय भुक्तान गरी घर फर्कने क्रममा पुन: पक्राउ गरी कम्पनीले तीन लाख १० हजार रियल (नेपाली ९५ लाख रुपैयाँ) जरिवाना लगाएको थियो । फैसला बमोजिमको रकम नबुझाएसम्म कारागारनै बस्‍नुपर्ने भएकाले उनका जीवन रक्षाका लागि नेपालमा प्रेमबहादुर राई बचाउ अभियान सञ्‍चालन भईरहेको छ ।

प्रेमबहादुरको पीडादायी दयनीय अवस्थाको समाचार बाहिर आएलगतै राट्रिय र अन्तराट्रिय स्तरमा प्रेमबहादुर राई बचाउ अभियान समिति गठन भई रकम संकलन गर्दै आइरहेका छन् । हालसम्म विभिन्न समितिमार्फत करिब चालिस लाख रुपैयाँ संकलन भईसकेको प्रेमबहादुर राई बचाउ अभियान दानाबारीका संयोजक दुर्गाराज शंकरले बताए । अहिले देश तथा विदेशबाट उनको उद्धारका लागि सहयोग प्राप्‍त भइरहेको अभियानले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार