काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको ‘मर्यादाक्रम’ मिलाउन कठिन भएपछि मन्त्रिपरिषद विस्तारमा समस्या देखिएको छ ।
यादवले प्रधानमन्त्री ओलीपछि उपप्रधानमन्त्रीसहित आफुलाई दोस्रो ‘मर्यादाक्रम’ मा राख्न माग गरेका छन् । तर, उपप्रधानमन्त्री नराख्ने प्रधानमन्त्री ओलीको अडान यथावत छ ।
अध्यक्ष यादवले ‘मर्यादाक्रम’ मा बढी चासो राखेपछि प्रधानमन्त्री ओलीले राजपा नेपालसँग पनि वार्ता अगाडि बढाएका छन् । फोरम नेपालले यस अघि नै सरकारमा सहभागी हुने निर्णय लिइसकेको छ ।
सरकारमा सहभागी हुने संघीय समाजवादी फोरमको निर्णय
तर, ‘मर्यादाक्रम’ को विवादले मन्त्रिपरिषद विस्तारमा कठिनाई बनेको हो । फोरम नेपालले तीन मन्त्रालय र उपसभामुख मागेको छ । तर, सत्तारुढ बामगठबन्धन फोरम नेपाललाई दुई मन्त्रालय र उपसभामुख दिने तयारीमा छ ।
दुई मन्त्रालय र सभामुखमा फोरम नेपाल उदार देखिएपनि यादवको ‘मर्यादाक्रम’ को अडान भने कायमै राखेको छ ।
फोरम नेपालका महासचिव रामसहाय यादव भन्छन्, ‘हाम्रा दावी अनेक छन् । तर कुरा मिल्नुपर्यो नि । अहिले कुनै कुरा मिलेको छैन । सबै कुरा अनुमानमा भरमा आएका हुन् ।’
उनले अन्तिम सहमति भएपछि त्यहीँ नै आधिकारीक हुने बताए ।
फोरम नेपालकी कोषाध्यक्ष रेणु यादवले सत्तारुढ दलसँग कुनै विषयमा कुरा नमिलेको दावी गरिन् । उनले भनिन्, ‘माग्न त हामीले धेरै कुरा मागेका छौँ । तर कुरा मिल्नु पर्यो नि । पहिलो माग संविधान संशोधन हो । त्यसैमा अहिले कुरा मिलेको छैन । अरु कुरा के गर्नु ।’
एमाले नेता सुवास नेम्वाङ्गले सबै विषयमा कुरा मिलिसकेको बताए । उनले अन्तिम रुप दिन अध्यक्ष–अध्यक्षबीचमा कुराकानी भइरहेको बताए । उनले भने, ‘सबै कुरा मिलिसकेको छ, एकदुई दिनमा सबै कुराको टुगों लाग्छ ।’
फोरम नेपाललाई दोस्रो मर्यादामा राख्दा माओवादीले पनि असहमति जनाउन सक्ने ओलीको संकेत थियो । राजपा नेपाल सरकारमा सहभागि भयो भने त्यहाँ पनि समस्या आउन सक्छ ।
संघीय संसदमा फोरम नेपाल भन्दा राजपा नेपाल ठूलो दल छ । प्रतिनिधिसभामा फोरम नेपाल भन्दा राजपा नेपाल एक सीटले अगाडी छ ।
राजपा नेपाललाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्रीले वार्ता गरिरहेका छन् ।