
नयाँ बुलन्द
इलाम : छैटौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७४ समापनको अवसरमा इलामको एक संस्थालाई सम्मानित गरिएको छ । सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै आन्तरिक राजश्व कार्यालय भद्रपुरले सम्मान गरेको हो ।
सम्मानित हुनेमा इलाम सदरमुकाममा आफ्नो मुख्य कार्यालय स्थापना गरि कारोबार सञ्चालन गरेको प्रकृति कृषि सहकारी संस्था रहेको छ । भद्रपुरमा विहीबार आयोजित कार्यक्रमविच प्रकृति कृषि सहकारी संस्थालाई सम्मान गरिएको हो । संस्थाका अध्यक्ष टेकबहादुर राईलाई कार्यक्रमका प्रमुख अतिथि झापा जिल्ला न्यायधिष खिलनाथ रेग्मीले सम्मान पत्र प्रदान गरे ।
आन्तरिक राजश्व विभागका महानिर्देशक किशोर जङ्ग कार्कीले राईलाई दोशल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा मेची अञ्चल प्रहरी प्रमुख पिताम्बर अधिकारीको समेत उपस्थिति िरहेको थियो । सहकारीका ब्यवस्थापक लिला थापाले आफ्नो सहकारी सम्मानित भएकोमा खुसी ब्यक्त गरे ।
उनले भने, ‘सरकारबाट अपेक्षा मात्र गर्ने, तर नागरिक या संस्थाहरुले आफ्नो कर्तब्य विर्सने प्रचलनलाई तोड्न सहकारीले स्थापनाकालदेखि नै कर छल्ने काम नगरि कर बुझउदै आएको थियो, यसैको परिणाम स्वरुप सम्मानित भएका छौं, खुसी लागेको छ ।’ सहकारीका सह ब्यवस्थापक अरुण बस्नेतले इलाम जिल्लाबाट उक्त सहकारी मात्र सम्मानित भएको जानकारी दिए ।
आन्तरिक राजश्व कार्यालय भद्रपुरले मंसिर १ गतेदेखि कर सप्ताह मनाएको थियो । कार्यालयले कर सप्ताहमा करदाता सचेतनालगायतका विविध कार्यक्रम सप्ताहभर सञ्चालन गरेको थियो । ‘हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर’ भन्ने नाराका साथ छैटौं कर सप्ताह मनाइएको थियो ।


















































