दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि यतिबेला राजनैतिक दलहरु चुनावी अभियानमा व्यस्त छन् । उम्मेद्वारहरु र्याली, सभा, कार्यकर्ता भेटघाट तथा घरदैलोमा व्यस्त छन् । विभिन्न लोकप्रिय चुनावी एजेण्डाहरु लिएर जनतामाझ गइरहेका छन् । सबै शक्ति प्रयोग गरी परीणाम आफ्नो पक्षमा पार्न उम्मेद्वारहरु लागिपरेका छन् । यसै सन्दर्भमा हामीले नेकपा एमालेबाट माइजोगमाइ गाउँपालिकाका अध्यक्षका उम्मेद्वार जीतबहादुर राईसँग स्थानीय तहको निर्वाचनको पेरीफेरीमा रहेकार कुराकानी गरेका छौं । प्रस्तुत छ नयाँ बुलन्दकर्मी नरेन इलामेलीले राईसँग गरेको कुराकानीको सम्पादित अंश :
स्थानीय तहको निर्वाचन नजिकिँदै छ । तपाईँ नेकपा एमालेको तर्फबाट माइजोगमाई गाउँपालिकाको उम्मेद्वार हुनुहुन्छ । अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले म लगायत नेकपा एमालेको सिङ्गो टिम नै जनताको घरदैलोमा चुनावी कार्यक्रम लिएर भोट माग्दै हिँडिरहेका छौं । हाम्रा चुनावी एजेण्डा र कार्यक्रमहरु जनताको सामु लिएर गइरहेका छौँ ।
तपाईहरु जनताकोसामु गइरहँदा जनता तपाईको पक्षमा छन् ?
जनता मेरो पक्षमा मात्रै हैन नेकपा एमालेको पक्षमा छन् । नेकपा एमाले जनताको भरोसा र विकासको आधार हो । त्यसैले जनता हाम्रै पक्षमा छन् ।
जनता हाम्रै पक्षमा छन् भन्नुभयो । माइजोगमाई वासीले तपाईलाई नै मतदान किन गर्ने ?
एकदमै महत्वपुर्ण प्रश्न गर्नु भयो । म लामो समयदेखि राजनितीमा सक्रिय छु । माइजोगमाई वासीको समस्यालाई बुझेको छु । हरेक समस्यामा सक्दो सहयोग पुर्याइरहेको छु । हामीले घोषणापत्र तयार गरी जनताका हात-हातमा पुर्याइसकेका छौँ । जुन घोषणापत्रमा उल्लेखित कुराहरु हाम्रो टिमको स्थानीय सरकार बनेको खण्डमा ब्यवहारमा कार्यानव्यन गर्नेछौँ । यदि घोषणापत्रमा उल्लेखित काम भएनन् भने जनताले प्रश्न उठाउन सक्नुहुन्छ । त्यसको जवाफदेही हाम्रो टिम बन्ने छ । यो स्थानीय सरकार ५ वर्षको अवधि लिएर बन्ने हो र काम गरेर देखाउन सकिएन भने अर्को निर्वाचनमा जनता ले हामीलाई दण्डित समेत गर्न सक्नुहुन्छ । त्यसैले यस पटकको निर्वाचनमा मेरो नेतृत्वको टिमलाई बिजयी गराउनुहुन्छ भन्ने आशा छ र मतदानका लागि सबै मतदातामा विनम्रतापूर्वक अनुरोध समेत गर्दछु ।
तपाई अध्यक्ष पदमा चुनावी मैदानमा दौडिरहँदा के छन् तपाईँको गाउँपालिकामा विकासका योजनाहरु ?
हरेक व्यक्ति चुनावमा गइरहँदा आ-आफ्ना एजेण्डाहरु लिएर नै अघि बढेको हुन्छ । माइजोगमाई गाउँपालिका एकदमै सम्भावना बोकेको क्षेत्र हो । यहाँका अधिकांश मानिस कृषिमा निर्भर छन् । म यस क्षेत्रको स्थानीय सरकारको प्रमुख भएर आएको खण्डमा कृषिमा आधुनिकिकरण गरेर जिवन निर्बाहमुखी र व्यवसायिक कृषिलाई जोड दिनेछु साथै शिक्षा, स्वास्थ्य, यातायात, संञ्चार, खानेपानी जस्ता जनताका प्रत्यक्ष सरोकार भएका विषयवस्तुमा जोड दिनेछु । साथै विद्युतिकरण मेरो पहिलो प्राथमिकता हुने आम मतदातहरुमा जानकारी गराउँदछु ।
माइजोगमाई गाउँपालिका पर्यटनको दृष्टिकोणले पनि धेरै सम्भावना बोकेको क्षेत्र हो । यसका लागि के छन् योजनाहरु ?
हो हाम्रो गाउँपालिकामा पर्यटनको सम्भावना धेरै छ । एसियाकै दोस्रो ठुलो गुम्बा मेघ्माको गुम्बा प्याङको गुम्बा, नयसँबजारको गुम्बा, उत्तरेपोखरी, बालागुरुको मन्दिर, सोयाङको साततले झरना हाम्रा पर्यटकीय स्थलहरु हुन् । जसको संरक्षण प्रवर्दन र प्रचार गरि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने छौँ । साथै फिक्कल-नयाँबजार-जौबारी हुदै सन्दकपुर सम्मको पर्यटकीय मार्ग निर्माण गरी पर्यटकहरुको सहज आवतजावतको ब्यवस्था गर्नु मेरो प्रमुख लक्ष्य रहनेछ ।
पछिल्लो समय ठूलो सङ्ख्यामा युवा पुस्ताहरु विदेशिएका छन् । के छन त तपाईँका युवा लक्षित कार्यक्रमहरु ?
वास्तवमै भन्ने हो भने युवा राष्ट्रका कर्णधार हुन । तर राज्यले सदुपयोग गर्न सकेको छैन । जो आज आज विदेशी मरुभुमीको गर्मीमा पसिना बगाउन बाध्य छन् । तर मेरो नेतृत्वको स्थानीय सरकार बनेपछि हामी बिभिन्न युवा लक्षित सीपमुलक तालिमहरु ल्याउँछौँ । भएका ब्यापार व्यावसायलाई प्रवर्दन गर्छौ । युवा स्वरोजगार कार्यक्रमहरु ल्याउँछौँ । युवाहरुलाई बैङ्किङ ऋणको ब्यवस्था गर्छौँ र कुनै न कुनै आयमुलक क्षेत्रमा युवाहरुलाई सहभागी गराउँछौँ ।
योजना र कार्यक्रमहरु त राम्रा छन् । तर घोषणापत्रमा मात्रै सीमित रहने त होइन ?
हामी बोलेर होइन, काम गरेर देखाउँछौ । झुटा घोषणापत्र बनाएर जनतालाई झुक्याएर लिएको भोटले कदापी भलो गर्दैन । त्यसैले जे गर्न सकिन्छ त्यो मात्र समावेश गरेका छौँ र बोलेको कुरा गरेर देखाउँछौं ।
तपाईँको जितको सम्भावना कति छ ?
मेरो जित सुनिश्चित छ । नेकपा एमाले जनताको भरोसा हो । त्यसैले मेरो जित हुनेमा म शतप्रतिशत विस्वस्त छु ।
यदि चुनावी मतपरिणाम तपाईँको पक्षमा आएन र तपाईँ पराजित हुनुभयो भने के गर्नु हुन्छ ?
यसको त सम्भावना नै छैन । तर चुनाव हो, दुर्भाग्यवस यस्तो हुन गयो भने यसलाई सामान्य रुपमा लिनेछु र आजीवन जनताको सेवामा लागिरहने छु ।
पछिल्लो समय नेताहरुले चुनावमा धेरै खर्च गरेर मात्र चुनाव जित्छन् भन्ने जनताको बुझाई छ । तपाई कति खर्च गर्ने योजनामा हुनुहुन्छ ?
जनताको मनमा यो खुल्दुली हुनु स्वभाविक हो । यस अघि कुनै नेताबाट त्यस्तो भएको हुन सक्छ । तर म यो पक्षमा छैन । पैसाले भोट किनेर जनतालाई प्रलोभनमा पारेर मत लिनु एउटा ठुलो अपराध हो । म अपराध पक्षमा छैन । र आम मतदातालाई पनि प्रलोभनमा नपरी एजेण्डा हेरेर मतदान गर्नुहुन्छ भन्ने आशा लिएको छु । र एजेण्डा हेरेर मतदान गर्नुहुन पनि अनुरोछ गर्दछु ।
बाँकी रह्यो खर्चको कुरा । निर्वाचन आयोगले मापदण्ड तोकेको छ । त्यो मापदण्ड भन्दा माथि जाने त कुरै भएन । त्यति पनि खर्च गर्ने पक्षमा छैन म । खाने बस्ने र यातायात खर्च बाहेक अन्य खर्च गर्दिन ।
अब, अन्त्यमा मैले सोध्न छुटेका र तपाईँले भन्न छुटेका केही कुरा छन् की ?
प्राय सबै कुरा समेटिएकै छन् । तै पनि म यस क्षेत्रको सक्रिय जुजारु र युवा यस पटक स्थानीय तहको निर्वाचनमा माईजोगमाई गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट चुनावी मैदानमा छु । म जनताको मतको कदर गरी जनभावना अनुरुप तपाईँहरुकै सेवाका लागि निर्वाचनमा उत्रिएको हु्। आदिवासी जनजाति लक्षित वर्गका लागि पनि मेरा थुप्रै कार्यक्रमहरु छन् । म निर्वाचित भएर पनि यसै ठाउँको विकासका लागि सक्रिय रहने छु । हामी निर्वाचित जनप्रतिनिधिहरु माई खोला कटेर पनि जाँदैनौ र जोगमाई काटेर पनि जाँदैनौ । त्यसैले यस पटकको निर्वाचनमा सुर्य चिन्हमा मतदान गरि नेकपा एमालेका उम्मेदवारहरुलाई बिजयी गराउनुहुन आम मतदाताहरुमा अनुरोध गर्दछु ।