चुलाचुलीका कृषक समूलाई १९ वटा बाख्रा वितरण

बाख्रा पाएपछि सामूहिक तस्विर खिचाउँदै कृषक समूहका पदाधिकारिहरु । तस्विर : चेतन आङथुपो ।

चेतन आङथुपो

चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाका बाख्रापालन कृषक समूहलाई १९ वटा बाख्रा वितरण गरिएको छ ।

कृषकहरुलाई व्यवसायिक बनाउँदै आर्थिक सुधार गर्ने उदेश्यका साथ सामाजिक परिचालन कार्यक्रम अन्तरगत जिल्ला समन्वय समिति इलामले बिहीबार एक लाख बराबरको बाख्रा कृषक समूहलाई वितरण गरेको हो ।

चालु आर्थिक वर्ष २०७३/०७४ सालको योजना अन्तरगत चुलाचुली गाउँपालिका १ देखि ५ सम्म गठन भएको १४ वटा समूका सदस्यहरूलाई १९ वटा पाठी र एउटा बोका वितरण गरिएको हो । जिल्ला स्वास्थ्य पशु कार्यालय इलाम र चुलाचुली गाउँपालिका स्वास्थ्य पशु कार्यालयको निगरानीमा रहने गरि स्थानीय स्तरका हावापानीमा सुहाउँदो प्रजातिका बाख्रा वितरण गरिएको सामाजिक परिचालक निर्मला घिमिरेले जानकारी दिइन् ।

संगठित समिति चुलाचुली गाउँपालिकाले आयोजनामा गरिएको कार्यक्रममा कार्यकारी अधिकृत छविलाल खतिवडा, वडा नम्बर १, २ र ३ का सचिव गोविन्द सुवेदी, ४ र ५ का सचिव भूपेन्द्र चौलागाई, ६ का सचिव रविन दाहाल, पशु प्राविधिक गणेश रेग्मी र आयोजक मुलसमितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम संगठित समिति चुलाचुली गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर दासको संयोजकत्वमा सम्पन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार