हामी आयौं

बुलन्द आवाज मिडिया प्रा.लि. इलामको प्रकाशनमा अनलाइन पत्रिका नयाँ बुलन्द डट कम (www.nayabulanda.com) लिएर हामी तपाई पाठकमाझ आएका छौं । प्रविधिको तीव्र विकासको बहुआयामिक उपयोग गर्दै जिल्लामा पहिलोपटक हामीले अनलाइन मार्फत इन्टरनेट प्रयोगकर्ताहरुलाई सही समयमा सही सूचना पाउने अधिकार स्थापित गराउन नयाँ कामको थालनी गरेका हौं ।

इन्टरनेटको सुविधा विस्तारसँगै पछिल्लो चरणमा छापा पत्रिकाहरुको तुलनामा अनलाइन पत्रिकाहरुले व्यापकता पाएको अवस्थामा हामीले पनि हाम्रा पाठक समक्ष अनलाइन पत्रिकाको माध्ययमबाट क्षणभरमै सही सूचना सम्प्रेशण गर्ने जमर्को गरेका हौं । प्रविधिको विकाससँगै अनलाइन मिडियाले विश्‍वलाई ‘सञ्चारमञ्च’ का रुपमा विश्वकै समाचारलाई सकेण्ड भरमै प्रवाह गरिरहेको छ । मिडिया प्रयोगकर्ताको पहिलो सूचनाको श्रोत अनलाइन बन्दैछ । तसर्थ विस्वासनीय र भरपर्दो सूचनाको श्रोत बन्ने उद्देश्यका साथ इलामे पत्रकारिता क्षेत्रमा नयाँ बुलन्द डट कम पनि थपिएको छ ।

यस अनलाइनमा हामीले स्थानीय, राष्ट्रिय, अन्तरराष्ट्रिय, प्रवास, शिक्षा-स्वास्थ, कृषि-पर्यटन, साहित्य-मनोरञ्जन, विज्ञान-प्रविधि, रोचक प्रसंग, खेलकुद, विचार र अन्तरवार्ता जस्ता स्तम्भहरु राखेका छौं । हामी भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना आम जनतासामू पुर्‍याउन प्रतिवद्ध छौं । विभेद र उत्पीडनमा परेका समुदाय, वर्ग र क्षेत्रका सबैखाले मुद्धा उजागर गर्दै मुलुकको राष्ट्रिय एकता र भौगोलिक अखण्डता साथै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रको संस्थागत विकासमा नयाँ बुलन्द सधैं पहरेदार बन्नेछ ।

हामी पत्रकारिताको मूल्य मान्यता, देशको प्रचलित संविधान, ऐन, नियम र कानूनलाई आत्मसात गर्दै अघि बढ्ने प्रण गर्दछौं । आफ्नो प्रतिबद्धतामा कहिल्यै विचलित हुनेछैनौं । हरपल, हरक्षण आम नागरिकलाई सु–सूचित गर्ने दायित्वबाट पछि हट्ने छैनौं । यसका लागि हामीले सबैको सहयोगको अपेक्षा गरेका छौं । यस अनलाइनलाई नेपाली सञ्चार उद्योगको अङ्गका रूपमा स्थापित गर्ने हाम्रो होस्टेमा हैँसे गरिदिन समस्त पाठक, विज्ञापनदाता तथा शुभचिन्तकलाई हार्दिक अनुरोध पनि गर्दछौँ ।  हामी यहाँहरुको सल्लाह, सुझाव र प्रतिक्रियाको आधारमा अघि बढ्नेछौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार