काठमाडौ : इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन अपराध नियन्त्रणका सम्बन्धमा पाँचबुँदे घोषणापत्र जारी गर्दै आज काठमाडौमा सम्पन्न भएको छ ।
गत बुधबारदेखि सुरु भएको सम्मेलनले पारित गरेको पहिलो बुँदामा एसिया प्रशान्त क्षेत्रका लागि सन् २०१७ देखि २०२० सम्मको इन्टरपोलको रणनीति तय गर्ने उल्लेख छ ।
मानव बेचबिखन, बाल हिंसाजस्ता क्षेत्रमा संयुक्त कारबाही अगाडि बढाउने तथा एसियाली क्षेत्रमा सूचना सङ्कलन र आदानप्रदानलाई अझ बढी प्रभावकारी बनाउने सहमति भएको छ ।
आतङ्ककारी सङ्गठनको सम्बन्धमा विवरण सङ्कलन, आदानप्रदान, आतङ्ककारीको सम्पत्ति विवरण सङ्कलनलगायतका विषयमा सहकार्य गर्दै प्रहरीलाई बलियो बनाउने उल्लेख छ ।
त्यसैगरी चौथो बुँदामा एसियाली क्षेत्रमा विद्युतीय अपराधविरुद्ध रणनीति तय गर्दै प्रहरीको सूचना तथा प्राविधिक ज्ञानको दायरा बढाउने उल्लेख छ । पाँचौँ बुँदामा अन्तरदेशीय वातावरणीय अपराध नियन्त्रण गर्ने तथा सोका लागि अन्तक्र्रिया, विवरण सङ्कलन र आदानप्रदान गर्ने उल्लेख छ ।
सम्मेलनमा मानव बेचबिखन, बालबालिकाविरुद्ध हुने अपराध, सङ्गठित अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराध, आतङ्कवाद, साइबर अपराध, वन्यजन्तुसम्बन्धी अपराधका विषयमा सम्मेलनमा छलफल भएको थियो । अर्को सम्मेलन दुई वर्षपछि इरानमा हुने भएको छ ।