संविधान संशोधन नगरे निर्वाचन हुनै नदिने मोर्चाको उद्घोष

संविधान संशोधन प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग

काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज(सोमबार) संविधान संशोधनको पक्षमा काठमाडौं उपत्यकासहित देशभरिका जिल्ला सदरमुकाममा प्रदर्शन गरेको छ ।

मोर्चाले पूर्व घोषित कार्यक्रमअनुरुप जिल्ला सदरमुकाममा प्रदर्शन गरेको हो । पर्सा, विरगञ्ज, रौतहट, सिरहा, सप्तरी, रुपन्देही, नेपालगञ्ज, सुनसरी, मोरङ लगायत जिल्लाको सदरमुकाममा भव्य रुपमा प्रदर्शन गरिएको छ । यी बाहेक पहाडी जिल्लामा पनि मोर्चाका कार्यकर्ताहरुले विरोध सभा गरेका छन् ।

प्रदर्शनमा सहभागी नेताहरुले संविधान संशोधन प्रक्रिया तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन् । संविधान संशोधन नगरी कुनै पनि हालतमा कुनै पनि निर्वाचन हुन नदिने मोर्चाका नेताहरुको चेतावनी दिएका छन् ।

हाल संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि संविधान संशोेधन कार्य गैरसंवैधानिक र गलत भएको भन्दै संसद् अवरुद्ध गर्दै आएको छ । जसका कारण संशोधन प्रस्ताव अघि बढ्न सकिरहेको छैन । एमाले संविधान संशोधनविरुद्ध सडकमा निस्केपछि मोर्चा पछिल्लो समय केही भए पनि उपब्धि हुने भन्दै सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावलाई नै अघि बढाउन सहमत देखिएको छ ।

यसअघि मोर्चाले परिमार्जन सहित संशोधन प्रतिया अघि बढाउनुपर्ने बताउँदै आएको थियो । संशोधन प्रस्ताव अघि नबढाइ निर्वाचनतिर जान खोजिए कडा आन्दोलन थाल्ने मोर्चाका नेताहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार