काबुल : अफगानिस्तानमा अल्पसंख्यक हजारा समुदायले गरेको प्रर्दशनका क्रममा शनिबार दुई आत्मघाती विस्फोट हुँदा कम्तिमा ६१ जनाको मृत्यु भएको छ भने २०७ जना घाइते भएका छन् ।
अलजजिराका अनुसार इराकको इस्लामिक स्टेट र द लेभान्त (इएसआइएल) ले घटनाको जिम्मेवारी लिएको छ । इस्लामिक स्टेटका दुई लडाकुले आत्मघाती विस्फोट गराएको इस्लामिक स्टेटको वेभसाइटमा लेखिएको छ ।
यसअघि अफगानिस्तानका अधिकारीले २९ जनाको मृत्यु भएको र १४२ जना घाइते भएको जनाएको छ । त्यस्तै कति वटा बम विस्फोट भए भन्ने यकिन नभएको जनाइएको थियो ।
आफ्नो क्षेत्रमा ट्रान्समिसन लाइन नलगेको विरोधमा हजारा समुदायका जनता प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शन सकिने बेलामा देह मजाङ स्क्वेरमा विस्फोट गराइएको अलजजिराले लेखेको छ । हिजोमात्र सरकारले आतंकवादीहरुले हमला गर्ने सूचना प्राप्त भएको जनाइएको थियो ।
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले शान्तिपूर्ण रुपमा जनताले प्रदर्शन गर्न पाउने अधिकार प्रयोग गरिरहँदा आतंकवादीहरुले आक्रमण गरेको बताए । उनले घटनामा आफू दुःखी भएको बताए ।