
नयाँ बुलन्द
काठमाडौं : संघीय गठबन्धनको सिंहदरबार घेराउ आन्दोलनमा प्रहरीले धरपकड गरेको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १२ जना भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । उनीहरू मध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
प्रहरी प्रदर्शनकारीबीच आज बिहानै झडक हु्ँदा गम्भीर घाइते बनेका संघीय युवा फोरमका केन्द्रीय सदस्य नितेश सिंघकसहित तीन जनालाई वीर अस्पतालको ट्रामा सेन्टर लगिएको छ । संघीय गठबन्धनका कार्यकर्ताहरूले बोकेको झण्डा र व्यानर प्रहरीले खोस्न खोजेपछि सवा दश बजेतिर झडप भएको हो ।
झडपमा प्रहरीले लाठी प्रहारबाट समाचार संकलनमा खटिएका संघीय प्रेस फोरमका केन्द्रीय उपाध्यक्ष सुकदेव चाम्लिङ पनि घाइते भएका छन् । नयाँ पुस्ता मासिकका सम्पादकसमेत रहेका चाम्लिङ समाचार संकलनमा खटिएका बेला प्रहरी आक्रमणमा परेको बताइएको छ । प्रहरीसँगको झडपमा युवा फोरमका केन्द्रीय सदस्य विष्णुजंग बस्नेत, विद्यार्थी फोरमका केन्द्रीय उपाध्यक्ष सुवास लाबुङ लिम्बु लगायत घाइते भएका समाजवादी फोरमका केन्द्रीय सदस्य लोकसागर साम्बाले जानकारी दिए ।
यसैबीच पत्रकार चाम्लिङमाथि कुटपिट भएको घटनाको निन्दा गर्दै संघीय प्रेस फोरमले बिज्ञप्ती जारी गरेको छ । समाचार संकलमा रहेका पत्रकारमाथि अक्रमण भएको भन्दै प्रेस फोरमले निन्दा गरेको छ । त्यस्तै, आन्दोलनमा सहभागी हुन राजधानी बाहिरबाट आउन लागेका गठबन्धनका कार्यकर्तालाई प्रहरीले विभिन्न स्थानमा रोकेको भन्दै संघीय गठबन्धनले विरोध गरेको छ ।
गठबन्धनले आजै विज्ञप्ति जारी गरेर आन्दोलनमा भएको प्रहरी हस्तक्षेपको विरोध गरेको छ । त्यस्तै बारा, पर्सा, धादिङ लगायत विभिन्न जिल्लामा प्रहरीले अनावश्यक चेकजाँचको निहु पारेर आन्दोलनकारीलाई रोकेको भन्दै गठबन्धनले निन्दा गरेको छ । सिंहदरबार घेराउ आन्दोलन सुरु भएलगत्तै राजधानीको यातायात अस्तव्यस्त बनेको छ ।

















































