
महेश चौरसिया
सप्तरी : संघीय समाजवादी फोरम नेपाल निकट पत्रकारहरुको छाता संगठन प्रेस फोरममा सप्तरीका १९ जना सक्रिय पत्रकारहरु प्रवेश गरेका छन् ।
राजविराजबाट प्रकाशित हुने ‘न्यूज टुडे डेली’ का सम्पादक श्यामसुन्दर यादवको नेतृत्वमा सोमबार संगठित रुपमै उनीहरु प्रेस फोरममा आबद्ध भएका हुन् ।
सम्पादक यादवको अध्यक्षतामा प्रेस फोरम नेपाल सप्तरी जिल्ला तदर्थ समिति गठन गरिएको छ ।
प्रेस फोरमको सप्तरी उपाध्यक्षमा न्यूज टूडे दैनिकका संवाददाता एवं आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका जिल्ला अध्यक्ष बृजमान तामाङ, सचिवमा नागरिक दैनिकका जितेन्द्र झा, सहसचिवमा सीएफएमका दीपा कर्ण, कोषाध्यक्षमा राजविराज टूडेका धर्मपाल राउत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा एभिन्यूज टेलिभिजनका सप्तरी संवाददाता बैद्यनाथ यादवसहित शिवप्रताव साह, गंगा साह, राजु शर्मा, किशोर पासवान, राजेन्द्र मिश्र लगायत १९ जना पत्रकार रहेका छन् ।
नवगठित कार्यसमितिलाई प्रेस स्वतन्त्रता, संघीयता, पहिचान विभेद विरुद्धको जारी अभियानमा निष्पक्ष एवं निर्भिक भएर सक्रिय रहन संघीय समाजवादी फोरम नेपालले शुभकामना तथा बधाई दिएको छ ।
प्रेस फोरम नेपालका सल्लाहकार शम्भु झाको प्रमुख आतिथ्यत र फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साह तथा फोरम नेपाल सप्तरीका जिल्ला अध्यक्ष दिनेश यादवको उपस्थितिमा जिल्ला कार्यसमिति घोषणा गरिएको हो ।

















































