फाकफोकथुममा विकास निर्माणदेखि स्वास्थ्य, कृषि र सामाजिक सुरक्षासम्म उल्लेखनीय प्रगति

जेठ मसान्तसम्म ५७.४५ प्रतिशत बजेट खर्च, १४७ विकास योजना कार्यान्वयनमा

  नयाँ बुलन्द
77 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म विकास निर्माण, सेवा प्रवाह, कृषि उत्पादन, पशु विकास, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा तथा सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ ।

गाउँपालिकाले शनिबार गाउँपालिकाको सभाहल आमचोकमा सञ्चालन गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममार्फत शाखागत प्रगति विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्षका अधिकांश कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको जनाएको हो ।

गाउँपालिकाका प्रशासकीय अधिकृत विज्ञान पौडेलका अनुसार चालु आर्थिक वर्षका लागि ५७ करोड २ लाख ९३ हजार १ सय ७५ रुपैयाँ बजेट विनियोजन गरिएकोमा जेठ मसान्तसम्म ३२ करोड ७६ लाख ४९ हजार ३ सय ४५ रुपैयाँ ८७ पैसा खर्च भएको छ । यो कुल बजेटको ५७.४५ प्रतिशत हो । हाल गाउँपालिकाको खातामा २४ करोड २६ लाख ४३ हजार ८ सय २९ रुपैयाँ १३ पैसा मौज्दात रहेको आर्थिक प्रशासन शाखाले जनाएको छ ।

विकास निर्माणमा तीव्रता

गाउँपालिका योजना शाखाका अनुसार गाउँपालिकाबाट विनियोजित १३७ र प्रदेश सरकारबाट विनियोजित १० गरी कुल १४७ वटा योजना सम्झौता भएका छन् । तीमध्ये २२ वटा योजना सम्पन्न भइसकेका छन् भने १२५ वटा योजना कार्यान्वयनको चरणमा रहेका छन् ।

क्षेत्रगत रूपमा हेर्दा सडकतर्फ ४२ वटा योजना सञ्चालनमा रहेका छन्, जसमध्ये ४ वटा सम्पन्न भएका छन् । भवन तथा टहरा निर्माणतर्फ १६ मध्ये ३ योजना सम्पन्न भएका छन् । खानेपानीतर्फ १६ योजना सञ्चालनमा रहेका छन्, जसमध्ये ६ वटा योजनाअन्तर्गत पाइप खरिद लगायतका कार्य सम्पन्न भएका छन् । शिक्षातर्फ १५ योजना सञ्चालनमा रहेकामा २ वटा सम्पन्न भएका छन् भने लक्षित वर्ग विकासअन्तर्गत २१ मध्ये ४ योजना सम्पन्न भएका छन् ।

गाउँपालिकाले विकास योजनाको गुणस्तर कायम गर्न नियमित स्थलगत अनुगमन, मूल्याङ्कन तथा उपभोक्ता समितिलाई आवश्यक निर्देशन दिने कार्यलाई निरन्तरता दिएको गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले बताए ।

रोजगार र उद्यम विकासमा जोड

श्रम तथा रोजगार शाखाले रोजगार व्यवस्थापन सूचना प्रणाली मा ८८१ जना बेरोजगार नागरिक सूचीकृत गरेको जनाएको छ । यस अवधिमा ५१ जनाले पूर्ण श्रम स्वीकृति लिएका छन् भने राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रममार्फत सात वटा योजना सम्पन्न भएका छन् ।

लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत २६ जना नयाँ उद्यमी सिर्जना गरिएका छन् । उनीहरूलाई उद्यमशीलता विकास तथा मौरीपालन सम्बन्धी तालिम दिइएको छ । साथै ३६ जना पुराना उद्यमीलाई उन्नत सीप विकास तालिम र प्रविधि हस्तान्तरण गरिएको छ ।

गाउँपालिकाले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । २५ जना वैदेशिक रोजगारबाट फर्किएका युवालाई पुनःएकीकरण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । आठवटा माध्यमिक विद्यालयमा मानसिक तथा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिएको छ भने समुदायस्तरमा १३ जनालाई घरमै पुगेर मनोसामाजिक परामर्श प्रदान गरिएको छ ।

पशुपालन क्षेत्रमा उत्साहजनक उपलब्धि

पशु सेवा शाखाले पशु स्वास्थ्य संरक्षण तथा उत्पादन वृद्धिका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको जनाएको छ । जेठ मसान्तसम्म ९ हजार १२१ पशुमा खोरेत, १२ हजार ३८४ पशुमा पीपीआर, १ हजार ४०९ पशुमा स्वाइन फिभर, २ हजार ९८१ पशुमा लम्पी स्किन तथा ५६३ कुकुरमा रेबिजविरुद्धको खोप लगाइएको छ ।

कृत्रिम गर्भाधान सेवाअन्तर्गत २ हजार ९०३ गाई र ४१० भैंसी गरी कुल ३ हजार ३१३ पशुमा सेवा प्रदान गरिएको छ । पशु बन्ध्याकरण सेवा १ हजार ९६५ पशुमा, पशु उपचार सेवा १ हजार ९४१ पशुमा तथा सर्जिकल उपचार ५४ पशुमा गरिएको छ ।

सहकारीसँगको साझेदारीमा सञ्चालन गरिएको गाई पकेट विकास कार्यक्रम अन्तर्गत १० वटा गोठ सुधार, १०० वटा बाल्टी तथा २५ वटा काउ म्याट वितरण गरिएको छ । छुर्पी प्रवर्द्धन कार्यक्रममार्फत दुई वटा डेरी भवन निर्माण गरिएको छ ।

कृषि आधुनिकीकरण र व्यावसायिकीकरणमा प्राथमिकता

कृषि विकास शाखाले विभिन्न वडामा कृषि उत्पादन वृद्धि तथा व्यावसायिकीकरणका कार्यक्रम सञ्चालन गरेको छ । वडा नं. ६ मा अलैंची पकेट विकास तथा तोरी प्रवर्द्धन कार्यक्रम, वडा नं. २ मा तरकारी पकेट विकास कार्यक्रम, वडा नं. ३ मा सुन्तलाजात तथा लसुन–प्याज प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ ।

गाउँपालिका स्तरमा नमुना कृषि उत्पादन कार्यक्रम र नर्सरी स्थापना गरिएको छ । किसानलाई बिउबिजन, प्लास्टिक टनेल, प्राङ्गारिक मल उत्पादन तथा कृषि प्रवर्द्धनसम्बन्धी सहयोग उपलब्ध गराइएको छ । कृषि तथा पशुपन्छी क्षेत्रको अद्यावधिक तथ्याङ्क संकलन कार्य पनि सम्पन्न गरिएको छ ।

सामाजिक सुरक्षामा झण्डै सात करोड रुपैयाँ वितरण

पञ्जीकरण शाखाका अनुसार सामाजिक सुरक्षा भत्तातर्फ ६ करोड ९४ लाख ५८ हजार ६ सय ४८ रुपैयाँ वितरण गरिएको छ । वायोमेट्रिक प्रमाणीकरणमा १ हजार ६७१ लाभग्राही सहभागी भएका छन् ।

यस अवधिमा २९९ जन्मदर्ता, १२७ मृत्यु दर्ता, १६६ विवाह दर्ता तथा ४९ सम्बन्ध विच्छेद दर्ता भएका छन् । १७ परिवार बसाइँ सरेर गाउँपालिकाभित्र आएका छन् भने १०० परिवार अन्यत्र बसाइँ सरेका छन् ।

महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा विभिन्न कार्यक्रम

महिला, बालबालिका तथा समाजकल्याण शाखाले ३५ जना महिला प्रतिनिधिलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ । ११ विद्यालयका २३९ विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको छ ।

२९ जना ज्येष्ठ नागरिकलाई घरमै पुगेर ट्वाइलेट चेयर वितरण गरिएको छ । ३०७ ज्येष्ठ नागरिक परिचयपत्र तथा १४ अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । गाउँपालिकामा हाल ४३५ जना अपाङ्गता भएका व्यक्ति सूचीकृत रहेका छन् । ३० जना अपाङ्गता भएका व्यक्तिलाई संस्था सुदृढीकरण तथा सीप विकास तालिम प्रदान गरिएको छ ।

भूमि व्यवस्थापनमा उल्लेखनीय कार्य

भूमि व्यवस्थापन तथा सर्वेक्षण शाखाले १ हजार ४४३ जग्गाधनीका लालपुर्जा तथा श्रेस्ता अद्यावधिक गरेको जनाएको छ । १४८ कित्ताको विवाद समाधान गरी चार किल्ला निर्धारण गरिएको छ ।

भूमि समस्या समाधान आयोगमार्फत ४४३ लगत प्रविष्ट गरिएको छ । गाउँपालिकाभित्र तीन भूमिहीन दलित, १३ भूमिहीन सुकुम्बासी तथा ४२७ अव्यवस्थित बसोबासी परिवारको अभिलेख तयार गरिएको छ ।

प्रशासन, राजस्व र विपद् व्यवस्थापन

प्रशासन शाखाले १३ नयाँ व्यवसाय दर्ता, २८ व्यवसाय नवीकरण, १६ नयाँ संस्था दर्ता तथा २४ संस्था नवीकरण गरेको जनाएको छ ।

राजस्व शाखाले जेठ मसान्तसम्म ३१ लाख २९ हजार ५ सय ३१ रुपैयाँ राजस्व संकलन गरेको छ ।

विपद् व्यवस्थापन शाखाले प्राकृतिक विपद्बाट प्रभावित १५ घरधुरीलाई पहिलो किस्ता तथा १२ घरधुरीलाई दोस्रो किस्ताबापत अस्थायी आवास सहायता वितरण गरेको छ । २० जना कृषकलाई पशुचौपाया क्षतिपूर्ति तथा ६३ घरधुरीलाई राहत रकम उपलब्ध गराइएको छ ।

स्वास्थ्य सेवामा पहुँच विस्तार

स्वास्थ्य शाखाले २ हजार २५९ जनाको नसर्ने रोग परीक्षण गरेको छ । २०९ महिलाको पाठेघर परीक्षण गरिएको छ । २७३ जनाको क्षयरोग परीक्षण गरिएको छ ।

परिवार नियोजन सेवाअन्तर्गत ३८ जनामा इम्प्लान्ट राखिएको छ । मातृ तथा नवशिशु स्वास्थ्य, पोषण तथा खोप कार्यक्रम सञ्चालन गरिएका छन् । स्वास्थ्य संस्थाहरूमा औषधि खरिद तथा वितरण कार्य नियमित रूपमा भइरहेको छ । विभिन्न दीर्घरोगी तथा बिरामीलाई मासिक ५ हजार रुपैयाँका दरले उपचार सहायता उपलब्ध गराइएको छ ।

शिक्षा र खेलकुदमा सक्रियता

शिक्षा, युवा तथा खेलकुद शाखाले कक्षा ८ र १० का ३९६ विद्यार्थीका लागि कोचिङ कक्षा सञ्चालन गरेको छ । ५२६ विद्यार्थीलाई गैरआवासीय छात्रवृत्ति वितरण गरिएको छ । ११ विद्यालयका नवप्रवेशी शिक्षकलाई मेन्टरिङ कार्यक्रम सञ्चालन गरिएको छ ।

गाउँपालिका स्तरीय राष्ट्रिय रनिङ शिल्ड प्रतियोगिता, राष्ट्रियस्तरको वृहत् चेस प्रतियोगिता तथा विभिन्न खेलकुद गतिविधि सम्पन्न गरिएका छन् । अन्तरपालिका स्तरीय फुटबल प्रतियोगितामा समेत सहभागिता जनाइएको छ ।

समग्रमा फाकफोकथुम गाउँपालिकाले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, रोजगार तथा सुशासनका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल गरेको जनाएको छ । सार्वजनिक सुनुवाइमार्फत नागरिकबाट प्राप्त सुझाव तथा प्रतिक्रियालाई आगामी योजना तथा बजेट निर्माणमा समेट्दै विकासलाई थप प्रभावकारी र नागरिकमैत्री बनाइने गाउँपालिका अध्यक्ष खनालले बताए ।

फाकफोकथुमले जेठ ३१ गते वडा नं. २ को कोलबोटेमा असार १ गते वडा नं. ६ को पोखरीमा, २ गते वडा नं. ७ को दोकानडाँडामा, ३ गते वडा नं. ५ को लुम्देमा, ४ गते वडा नं. ४ को फुएतप्पा र ५ गते १ नं. को ठिङ्गेपुरमा समेत कार्यक्रम आयोजना गरी स्थानीय नागरिक, राजनीतिक दल, सामाजिक संघसंस्था, विद्यालय, सहकारी तथा विभिन्न सरोकारवालासँग प्रत्यक्ष संवाद गरिएको गाउँपालिकाले जनाएको छ ।

सार्वजनिक सुनुवाइ स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण माध्यम भएको बताउँदै अध्यक्ष खनालले जनताका सुझाव र प्रतिक्रियालाई विकास योजनाको आधार बनाइने उल्लेख गरे । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए ।

सार्वजनिक सुनुवाइबाट नागरिकको सहभागिता वृद्धि हुनुका साथै स्थानीय सरकारप्रति विश्वास अभिवृद्धि भएको प्रमुख प्रशासकीयअ अधिकृत निर्मल तुम्रोकले बताए । साथै विकास निर्माणका काममा पारदर्शिता कायम गर्न, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा जनप्रतिनिधि र कर्मचारीलाई उत्तरदायी बनाउन कार्यक्रम उपयोगी बनेको उनको भनाइ छ ।

सातै वडामा सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीय तहमा सुशासन प्रवर्द्धन, नागरिक सहभागिता अभिवृद्धि र विकास प्रक्रियामा जनउत्तरदायित्व सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार