
इलाम : इलामको माङसेबुङ गाउँपालिका वडा नं. २ ले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सञ्चालन हुने वडा स्तरीय वार्षिक योजना तथा कार्यक्रम छनोट प्रक्रिया सुरु गरेको छ । वडा कार्यालयले सूचना जारी गर्दै वडाभित्रका सम्पूर्ण सरोकारवालाहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई आफ्नो क्षेत्रका आवश्यकता र प्राथमिकताका योजना तथा कार्यक्रम संकलनमा सहभागी हुन आग्रह गरेको हो ।
वडाध्यक्ष सुरेश राईद्वारा जारी सूचनाअनुसार योजना छनोट तथा संकलन कार्यक्रम असार ४ र ५ गते विभिन्न स्थानमा आयोजना गरिनेछ । स्थानीय तहको योजना तर्जुमा निर्देशिकाअनुसार समुदायस्तरबाट योजना छनोट गरी आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको जनाइएको छ ।
सूचनाअनुसार २०८३ असार ४ गते बिहान ११ बजे दहगाउँ सामुदायिक भवन, दहगाउँमा पहिलो चरणको भेला आयोजना हुनेछ । त्यस्तै, सोही दिन दिउँसो १२ बजे सिंहदेवी आधारभूत विद्यालय, डाँडागाउँमा दोस्रो चरणको कार्यक्रम सञ्चालन गरिनेछ । दिउँसो २ बजे शाखा कार्यालय, चित्रेमा योजना संकलन कार्यक्रम राखिएको छ भने दिउँसो ४ बजे सरस्वती आधारभूत विद्यालय, पावामा अर्को भेला आयोजना गरिनेछ ।
वडा कार्यालयका अनुसार २०८३ असार ५ गते दिउँसो १२ बजे इभाङ आधारभूत विद्यालय, इभाङमा तथा दिउँसो २ बजे वडा कार्यालय, इभाङमा अन्तिम चरणको कार्यक्रम सञ्चालन हुनेछ ।
वडा कार्यालयले स्थानीयवासी, जनप्रतिनिधि, टोल विकास संस्था, सामाजिक संघसंस्था तथा अन्य सरोकारवालाहरूलाई अनिवार्य रूपमा उपस्थित भई आफ्नो क्षेत्रका आवश्यक योजना तथा कार्यक्रम प्रस्ताव गर्न अनुरोध गरेको छ।
स्थानीय तहमा सहभागितामूलक योजना निर्माणलाई संस्थागत गर्ने उद्देश्यले माङसेबुङ गाउँपालिकाले समुदायस्तरबाट योजना छनोटको अभ्यासलाई निरन्तरता दिँदै आएको छ । यसबाट स्थानीय आवश्यकता अनुसारका विकास योजना छनोट भई बजेटको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

















































