टोल विकास संस्थाको सहभागितामै योजना छनोट गर्दै माङसेबुङ-३ नं. वडा कार्यालय

  नयाँ बुलन्द
14 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी योजना छनोटका लागि टोल विकास संस्थाहरूलाई उपस्थित हुन आग्रह गरेको छ ।

वडा कार्यालयले सूचना जारी गर्दै विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरूलाई तोकिएको मिति, स्थान र समयमा उपस्थित भई योजना छनोट प्रक्रियामा सहभागी हुन अनुरोध गरेको हो । स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षका विकास योजना तय गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष लक्षुमन राईद्वारा हस्ताक्षरित सूचनाअनुसार वडाभित्रका विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरूलाई फरक-फरक मिति र स्थानमा उपस्थित हुन भनिएको छ । योजना तर्जुमा प्रक्रियामा स्थानीयको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्दै विकास निर्माणका कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको जनाइएको छ ।

सूचनाअनुसार बाघमारा, मनिपुर, लामिटार, दुम्से, यसम्बर. फाल्गुनन्द टोल विकास संस्थाको भेला २०८३ असार ५ गते बिहान ८ बजे प्रहरी चौकी लामिटार गोलघरमा बस्नेछ ।

त्यसैगरी नाचुहाङ, उत्तरे र सेवा सेवारो टोल विकास संस्थाको भेला २०८३ असार ५ गते दिउँसो १२ बजे आदिवासी जनजाति भवन उत्तरेमा आयोजना गरिने भएको छ ।

यस्तै सुप्तुलुङ, सयपत्री, हिलिहाङ र सिर्जनशील टोल विकास संस्थाको भेला २०८३ असार ५ गते दिउँसो ३ बजे माङसेबुङ–३ वडा कार्यालय भवनमा बस्नेछ ।

त्यस्तै चिवुवा, सिम्ले, हरियाली, प्रगतिशील र खम्बु टोल विकास संस्थाको भेला २०८३ असार ६ गते बिहान ८ बजे खार्मिले डाँडा सामुदायिक भवनमा आयोजना गरिने वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयका अनुसार भेलामा स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षका विकास योजना छनोट गरिनेछ । स्थानीय बासिन्दाको सहभागितामा तयार गरिएका योजनाले विकास निर्माणलाई थप प्रभावकारी, जनमुखी र आवश्यकता आधारित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

वडा कार्यालयले सम्बन्धित सबै टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य उपस्थितिका लागि आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार