
इलाम : इलाम नगरपालिका वडा नं. १ साँखेजुङमा स्वच्छ ऊर्जाको प्रवर्द्धन तथा चिया खेतीको आधुनिकीकरण गर्ने उद्देश्यले ७७ घरधुरीलाई इन्डक्सन चुलो र ३० जना पुराना चिया कृषकलाई चिया टिप्ने मेसिन वितरण गरिएको छ।
वडामा आयोजित एक भव्य कार्यक्रमका बीच स्थानीय बासिन्दा र कृषकलाई सामग्री हस्तान्तरण गरिएको हो । कार्यक्रमले एकातर्फ विद्युतीय उपकरणको प्रयोगमार्फत स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ भने अर्कोतर्फ चिया खेतीमा यान्त्रिकीकरण बढाई उत्पादन र श्रम दक्षता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा इलाम नगरपालिकाका नगरप्रमुख केदार थापा, नगर प्रवक्ता नूतनदेव दुलाल, सहयात्रा नेपाल इलामकी अध्यक्ष हेमकुमारी शिवा, कोषाध्यक्ष सविता पाण्डे, नेपाल विद्युत प्राधिकरण इलामका प्रमुख, पत्रकार तथा वडाका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
वडा अध्यक्ष गायत्रीराम बस्नेतका अनुसार इन्डक्सन चुलो सहयात्रा नेपाल इलाम, इलाम नगरपालिका वडा नं. १ र उपभोक्ताको लागत सहभागितामा वितरण गरिएको हो । यसबाट दाउरा तथा एलपी ग्यासको प्रयोग घटाई विद्युतीय ऊर्जाको उपयोग बढ्ने विश्वास गरिएको छ । इन्डक्सन चुलोको प्रयोगले घरायसी काम सहज हुनुका साथै वातावरण संरक्षणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी, चिया टिप्ने मेसिन इलाम नगरपालिकाको मेटपा कार्यक्रम र कृषकहरूको लागत सहभागितामा वितरण गरिएको हो । मेसिन प्रयोगबाट चिया टिप्ने कार्य छिटो, सहज र प्रभावकारी हुने तथा श्रमिक अभावको समस्या समाधानमा समेत सहयोग पुग्ने कृषकहरूले बताएका छन् ।
कार्यक्रममा बोल्दै वक्ताहरूले आधुनिक प्रविधिको प्रयोगले स्थानीय अर्थतन्त्र सुदृढ हुने र कृषकहरूको आयआर्जनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका थिए । उनीहरूले स्वच्छ ऊर्जा र कृषि आधुनिकीकरणलाई स्थानीय विकासको महत्वपूर्ण आधारका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।
वडा नेतृत्वले सहयोगी संस्था सहयात्रा नेपाल इलाम र इलाम नगरपालिकाको मेटपा कार्यक्रमप्रति आभार व्यक्त गर्दै यस्ता जनमुखी कार्यक्रम आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता जनाएको छ ।
स्थानीयवासीले यस्ता कार्यक्रमले दैनिक जीवन सहज बनाउनुका साथै कृषि उत्पादनलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।
















































