
इलाम : इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ५ ले आर्थिक वर्ष २०८२/०८३ मा सेवा प्रवाह, पूर्वाधार विकास, सामाजिक सशक्तीकरण र सुशासनका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । बुधबार आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाले चालु आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै विभिन्न क्षेत्रमा भएका उपलब्धिहरू प्रस्तुत गरेको हो ।
वडा अध्यक्ष सिद्धमान आलेले नागरिकलाई सहज, छिटो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यका साथ सेवा प्रवाहलाई प्रविधिमैत्री र जनमुखी बनाएएको बताए । राजश्व संकलन तथा मालपोत रसिदलाई कम्प्युटरमा आधारित अनलाइन प्रणालीमार्फत सञ्चालन गरिएको छ भने आवश्यक कागजातहरू विद्युतीय मेलमार्फत पठाउने व्यवस्था गरिएको छ । सेवाग्राहीलाई विभेदरहित सेवा प्रदान गर्दै ‘पहिले आउनेलाई पहिले सेवा’ को सिद्धान्त अवलम्बन गरिएको वडाले जनाएको छ ।
योजना सञ्चालनलाई थप पारदर्शी बनाउन उपभोक्ता समितिका पदाधिकारीहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । योजनाहरूको प्रत्यक्ष प्राविधिक अनुगमन हुने तथा भुक्तानी अघि जनप्रतिनिधि र गाउँपालिकाको उपाध्यक्षसहितको टोलीबाट अनिवार्य अनुगमन गर्ने व्यवस्था मिलाइएको छ ।
सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा कार्यालय, जालपा माध्यमिक विद्यालय, महिला माछापुछ्रे बहुउद्देश्यीय सहकारी भवन तथा माल्टेनी टोलमा शिविर सञ्चालन गरी सेवाग्राहीलाई सहज सेवा प्रदान गरिएको उनले बताए । त्यस्तै भूमिकर तथा मालपोत संकलनका लागि चार स्थानमा घुम्ती शिविर सञ्चालन गरिएको थियो ।
स्वास्थ्य क्षेत्रमा पनि वडा सक्रिय देखिएको छ । पञ्चमी अर्जेन्ट क्लिनिक दमकको प्राविधिक सहयोगमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट १८५ जना स्थानीय लाभान्वित भएका थिए । शिविरबाट १२५ महिला र ६० पुरुषले घरदैलो नजिकै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गरेका थिए ।
वडाले आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि जेठ मसान्तसम्म विभिन्न शीर्षकबाट कुल ४ लाख ५८ हजार ८०४ रुपैयाँ ४१ पैसा राजश्व संकलन गरेको वडा सचिव लेकबहादुर नेम्बाङले बताए । उनका अनुसार यस अवधिमा भूमिकर तथा मालपोतबाट १ लाख १० हजार ३९६ रुपैयाँभन्दा बढी राजश्व संकलन भएको छ भने सिफारिस दस्तुरबाट २ लाख ३१ हजार २०० रुपैयाँ आम्दानी भएको छ ।
व्यक्तिगत घटना दर्तातर्फ ४० जन्मदर्ता, ११ मृत्यु दर्ता, २५ विवाह दर्ता र पाँच सम्बन्ध विच्छेद दर्ता भएको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा १८ परिवार बसाइँसराइ गरी बाहिरिएका छन् भने कुल ५६ जना वडाबाट अन्यत्र बसाइँसराइ गएको जनाइएको छ ।
सेवा प्रवाहअन्तर्गत वडाबाट ५९ नागरिकता सिफारिस, ३२ नागरिकता प्रतिलिपि सिफारिस, २३ घरजग्गा सम्बन्धी सिफारिस तथा ३१५ अन्य सिफारिस गरी कुल ६३२ वटा सिफारिस प्रदान गरिएको कार्यालयले जनाएको छ ।
विकास निर्माणतर्फ वडाले विभिन्न क्षेत्रका योजना तथा कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक विकासअन्तर्गत कृषि कलेक्सन केन्द्र फिनिसिङ कार्य सम्पन्न भएको छ भने बजेट कटौतीका कारण केही कृषि कार्यक्रम सञ्चालन हुन नसकेको जनाइएको छ ।
भौतिक पूर्वाधारतर्फ जिजिसधारा-अगौटे-भालुखोप-थापाखोला सडकमा ग्राभेल तथा सोलिङ कार्य सम्पन्न भएको छ । शाखा सडक मर्मत, इन्धन व्यवस्थापन तथा विभिन्न सडक सुधारका काम पनि सम्पन्न भएका छन् । केही आयोजना भने विपद् तथा बजेट अभावका कारण प्रभावित बनेका छन् ।
सामाजिक विकासतर्फ खेलकुद कार्यक्रम, महिला लक्षित ब्यूटी पार्लर तालिम, अपाङ्गता सहायता सामग्री वितरण तथा खानेपानी मुहान संरक्षणका कार्यक्रम सम्पन्न भएका छन् । दलित लक्षित कार्यक्रमअन्तर्गत सामुदायिक भवन निर्माणमा साझेदारी गरिएको छ ।
संस्थागत सेवा प्रवाह तथा सुशासनतर्फ स्वास्थ्य चौकी व्यवस्थापन, प्रहरी चौकी सञ्चालन सहयोग तथा कार्यालय व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिएका छन् । वडाले नागरिक वडा पत्र, उजुरी पेटिका, सूचना पाटी तथा सामाजिक सञ्जालमार्फत सूचना सम्प्रेषणलाई प्रभावकारी बनाएको जनाएको छ । जनउत्तरदायी र जवाफदेही स्थानीय शासन प्रणालीको अभ्यासलाई निरन्तरता दिइएको वडाको दाबी छ ।
वडा बजेटबाहेक संघ, प्रदेश र गाउँपालिकाको साझेदारीमा सञ्चालित ठूला योजनाहरू पनि निर्माणाधीन रहेका छन् । छरछरे मुहान-माल्टेनी-सल्लेरी खानेपानी लिफ्टिङ आयोजना, अन्तरेडाँडा-जालपा-कैजलेमूल सडक स्तरोन्नति, जलकन्या मन्दिर क्षेत्र विकास तथा माल्टेनी ग्याविङ वाल निर्माणका कार्य प्रगतिमा रहेका छन् । त्यस्तै जालपा माध्यमिक विद्यालयको चार कोठे पक्की भवन निर्माण र प्रधानमन्त्री राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गतका आयोजनाहरू अन्तिम चरणमा पुगेका छन् ।
फाकफोकथुम गाउँपालिका वडा नं. ५ को दक्षिणी क्षेत्रमा अवस्थित लुम्दे ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय सम्भावना बोकेको क्षेत्रका रूपमा परिचित छ । साविक लुम्दे गाविसका विभिन्न वडाहरू मिलेर बनेको यस वडाको क्षेत्रफल ११.८६ वर्ग किलोमिटर रहेको छ भने जनसंख्या २ हजार २०१ रहेको छ । कृषि यहाँको प्रमुख पेशा हो । सिंहदेवी मन्दिर, जलकन्या मन्दिर, भुमरे गुफा, खरानेथुम्का, जनैढुंगा, कुम्मायक–कुस्यायक महादेव मन्दिर, सतीढुंगे तथा निर्माणाधीन नवमी झिलजस्ता पर्यटकीय स्थलहरूले यस क्षेत्रको पर्यटन विकासको सम्भावना उजागर गरेका छन् ।
















































