फाकफोकथुममा वडा-वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम हुने, नागरिकलाई सहभागिताका लागि आग्रह

इलाम : इलामको फाकफोकथुम गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका योजना, कार्यक्रम तथा सेवा प्रवाहबारे नागरिकलाई जानकारी गराउने र जनताका सुझाव तथा गुनासा संकलन गर्ने उद्देश्यले वडा तहमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकद्वारा जारी सूचनाअनुसार गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत हालसम्म सम्पन्न भएका विकास निर्माण, सेवा प्रवाह र सुशासन प्रवर्द्धनको समीक्षा तथा सुझाव लिनका लागि सार्वजनिक सुनुवाइ आयोजना गर्न लागिएको हो । गाउँपालिकाले सार्वजनिक सुनुवाइलाई स्थानीय सरकार र नागरिकबीच प्रत्यक्ष संवाद स्थापित गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिएको जनाएको छ।

सूचनामार्फत गाउँपालिकाभित्र क्रियाशील राजनीतिक दल, सामाजिक तथा सामुदायिक संघसंस्था, विद्यालय, सहकारी संस्था, नागरिक समाज, सेवा ग्राही तथा अन्य सरोकारवालाहरूलाई कार्यक्रममा उपस्थित भई रचनात्मक सुझाव दिन आग्रह गरिएको छ । सार्वजनिक सुनुवाइमा गाउँपालिकाले हालसम्म गरेका विकास निर्माणका काम, बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था, सेवा प्रवाहको प्रभावकारिता लगायतका विषयमा जानकारी गराइने जनाइएको छ ।

गाउँपालिकाले यही जेठ ३१ गतेदेखि असार ६ गतेसम्म सातवटै वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ । कार्यक्रम बिहान १० बजेदेखि सम्बन्धित वडा कार्यालय प्राङ्गणमा हुनेछन् । गाउँपालिकाले सार्वनजिक गरेको तालिका अनुसार वडा नं. २ मा जेठ ३१ गते, वडा नं. ६ मा असार १ गते, वडा नं. ७ मा असार २ गते, वडा नं. ५ मा असार ३ गते, वडा नं. ४ मा असार ४ गते, वडा नं. १ मा असार ५ गते र वडा नं. ३ मा असार ६ गते सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिनेछ ।

स्थानीय तहको सुशासन, पारदर्शिता र जवाफदेहितालाई मजबुत बनाउन सार्वजनिक सुनुवाइ प्रभावकारी माध्यम हुने विश्वास गाउँपालिकाको छ । कार्यक्रममार्फत नागरिकले विकास निर्माणका कामको गुणस्तर, सेवा प्रवाहमा देखिएका समस्या तथा आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे आफ्ना धारणा खुला रूपमा राख्न सक्नेछन् ।

गाउँपालिकाले सम्बन्धित शाखा प्रमुखहरूलाई हालसम्मको प्रगति विवरण तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । सार्वजनिक सुनुवाइबाट प्राप्त सुझाव, गुनासा र प्रतिक्रियाहरूलाई आगामी योजना निर्माण तथा सेवा प्रवाह सुधारका आधारका रूपमा उपयोग गरिने जनाइएको छ ।

स्थानीय सरकारप्रति नागरिकको विश्वास अभिवृद्धि गर्नुका साथै जनप्रतिनिधि र कर्मचारीलाई थप उत्तरदायी बनाउने उद्देश्यले आयोजना गर्न लागिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवाला सबै पक्षको सक्रिय सहभागिता रहने अपेक्षा गाउँपालिकाले गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार