
इलाम : इलामको रोङ गाउँपालिकाले राष्ट्रिय कृषक दिवसको अवसर पारेर बुधबार कृषकका लागि तयार गरिएको ‘किसान मार्गदर्शन पुस्तक’ लोकार्पण गरेको छ।
कृषकलाई आधुनिक, व्यावसायिक तथा वैज्ञानिक कृषि प्रणालीबारे जानकारी उपलब्ध गराउने उद्देश्यले प्रकाशन गरिएको उक्त पुस्तक सार्वजनिक गरिएको गाउँपालिकाले जनाएको छ। पुस्तकमा कृषि उत्पादन, बाली व्यवस्थापन, पशुपालन, रोग तथा कीरा नियन्त्रण, कृषि प्रविधि, बजार व्यवस्थापनलगायतका विषय समेटिएका छन्। साथै विगतका सफल किसानका अनुभव र आगामी दिनमा कृषकले अपनाउनुपर्ने सावधानी तथा रणनीतिसमेत समावेश गरिएको छ।
कार्यक्रममा गाउँपालिकाले कार्यविधि बनाएर कृषकहरूमध्ये निश्चित मापदण्डका आधारमा १२१ जना गुरु किसान छनोट गरेको जानकारी दिएको छ। छनोट भएका गुरु किसानलाई कृषि क्षेत्रमा योगदानको कदर गर्दै सम्मानसमेत गरिएको थियो।
गुरु किसान सोम अर्यालले स्थानीय सरकारको यस पहलले किसानलाई हौसला र राहत मिलेको बताउँदै किसानको योगदानको सम्मान हुने वातावरण बनेको प्रतिक्रिया दिए। उनले किसानलाई आत्मसम्मानका साथ कृषि पेशामा लागिरहन प्रेरणा मिलेको उल्लेख गरे।
गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया भुजेलले कृषि क्षेत्रको विकास र कृषकको आयस्तर वृद्धि स्थानीय सरकारको प्राथमिकतामा रहेको बताइन्। उनले कृषि उत्पादन वृद्धि, व्यवसायीकरण र प्रविधिमैत्री खेती प्रणाली विस्तारका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिइन्।


















































