
पाँचथरः छात्राहरूको सुरक्षित महिनावारी व्यवस्थापनलाई प्राथमिकता दिँदै फाल्गुनन्द गाउँपालिका-५ स्थित घुर्बिसे पञ्चमी माध्यमिक विद्यालयमा सेनेटरी प्याड डिस्पोजल मेसिन जडान अभियानले गति लिएको छ।
नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको राँके शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत छात्रा र शिक्षिकाको स्वास्थ्य र सरसफाइलाई मध्यनजर गर्दै करिब ६० हजार रुपैयाँ बराबरको सेनेटरी प्याड डिस्पोजल मेसिन विद्यालयलाई हस्तान्तरण गरेको छ। सोमबार आयोजित कार्यक्रममा पालिका शिक्षा शाखा प्रमुख मेदनी प्रसाई, कार्यवाहक वडाध्यक्ष गंगा थेवे चेम्जोङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लगनविक्रम चेम्जोङ, बैंकका शाखा प्रमुख सञ्जय रेग्मी, कर्मचारी गौरव राई, निवर्तमान प्रधानाध्यापक नरेन्द्रनाथ अधिकारी, विव्यस सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक शेरबहादुर चेम्जोङले मेसिनले विद्यालयका अधिकांश छात्रा तथा शिक्षिकालाई प्रत्यक्ष लाभ पुग्ने बताए। ‘चिसो भेगमा रहेको यस क्षेत्रमा प्रयोग भएका प्याड व्यवस्थापन चुनौतीपूर्ण थियो। अब विद्यालय परिसर सफा राख्न र छात्राहरूलाई सहज वातावरण बनाउन ठूलो मद्दत पुग्नेछ,’ उनले भने।यसैगरी, केही दिनअघि मात्रै नेशनल लघुवित्त वित्तीय संस्था घुर्बिसे पञ्चमी शाखाले पनि विद्यालयलाई यस्तै प्रकारको डिस्पोजल मेसिन उपलब्ध गराएको थियो। बुधबार अर्को संस्थाबाट थप मेसिन प्राप्त भएसँगै विद्यालयमा अब दुई स्थानमा यस्ता उपकरण सञ्चालन गरिने भएको छ।कार्यक्रमका प्रमुख अतिथि मेदनी प्रसाई, वडाध्यक्ष थेवे तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष चेम्जोङले विद्यालयको आवश्यकता बुझेर सहयोग गर्ने दुवै संस्थाप्रति आभार व्यक्त गरे।
विद्यालयका शिक्षक सुरेन्द्रप्रसाद लामिछानेका अनुसार २०३७ सालमा स्थापना भएको घुर्बिसे पञ्चमी माध्यमिक विद्यालयमा हाल करिब ४ सय ५० विद्यार्थी अध्ययनरत छन्। बालविकासदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यम र कक्षा १२ सम्मको अध्ययन व्यवस्था रहेको विद्यालयमा २५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।इलाम र पाँचथर सिमानामा अवस्थित यो संस्था शैक्षिक केन्द्रका रूपमा परिचित छ । यस विद्यालयमा पछिल्लो समय विभिन्न संघसंस्थाको सहयोग बढ्दै गएको छ।
राँके बजारमा शाखा र घुर्बिसे पञ्चमीमा एक्सटेन्सन काउन्टर सञ्चालन गर्दै आएको नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले राँके बजार, देराली, पुरानो पञ्चमी, घुर्बिसे पञ्चमी तथा इलाम आसपासका सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकले यसअघि पनि विद्यार्थी लक्षित शैक्षिक सामग्री वितरण तथा अन्य सामाजिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।



















































