
इलाम : पूर्वी नेपालको पर्यटन, वातावरण संरक्षण तथा स्थानीय पहिचानलाई विश्वसामु चिनाउने उद्देश्यसहित इलाममा ‘केचना-कञ्चनजंघा रेस्पोन्सिबल टुरिजम मिट-२०८३’ आयोजना हुने भएको छ । आगामी जेठ २३ र २४ गते इलाम सदरमुकामस्थित गौतम बुद्ध सभागृहमा कार्यक्रम सञ्चालन हुने आयोजकले सोमबार इलाम सदरमुकाममा पत्रकार भेटघाट गरी जानकारी गराएको छ।
इलाम नगरपालिकाको नगर पर्यटन प्रवर्द्धन समितिको आयोजनामा हुन लागेको उक्त कार्यक्रम होटल व्यवसायी संघ इलामको प्रवर्द्धनमा सञ्चालन हुनेछ । कार्यक्रममा इलाम उद्योग वाणिज्य संघ, गाइड पोर्टर ड्राइभर क्लब तथा पर्यटन प्रवर्द्धन सरोकार समितिको सहआयोजना रहनेछ भने इलाम नगरपालिका र पर्यटन कार्यालय काकरभिट्टाले आर्थिक सहयोग गर्ने भएका छन् ।
आयोजककी अध्यक्ष सुशिला सापकोटाले केचना क्षेत्रदेखि कञ्चनजंघा क्षेत्रसम्म जिम्मेवार पर्यटन प्रवर्द्धन गर्ने रणनीतिक पहलका रूपमा कार्यक्रमलाईअघि बढाइएको बताइन् । कार्यक्रमले स्थानीय पर्यटन विकाससँगै क्रस बोर्डर टुरिजमलाई समेत थप टेवा पुग्ने विश्वास गरिएको उनले बताइन् ।
समुद्र सतहबाट सबैभन्दा होचो स्थान झापाको केचना र विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघालाई एउटै पर्यटन करिडोरका रूपमा विकास गर्ने अवधारणालाई कार्यक्रमले जोड दिएको आयोजकका सहसंयोजक देवीप्रसाद पौडेलले बताए । कार्यक्रममा जिम्मेवार पर्यटन, जैविक विविधता, स्थानीय संस्कृति तथा वातावरण संरक्षणका विषयमा बहस र कार्यदिशा तय गरिने पोडेलले बताए ।

कार्यक्रममा नेपाल तथा भारतबाट जनप्रतिनिधि, प्रतिष्ठित पर्यटन व्यवसायी, वातावरणविद्, सरकारी प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहने आयोजकका सचिव अर्जुन पोख्रेलले बताए ।
दुईदिने कार्यक्रममा लेण्डस्केप ग्यालरी, प्रस्तुतीकरण, सांस्कृतिक झाँकी, प्यानल छलफल, पर्यटकीय गन्तव्यहरूको भ्रमण, पुरस्कार सम्मान, फोटो तथा भिडियो प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, स्थानीय खानाका परिकार तथा हस्तकलाका सामग्रीको प्रदर्शनी र बिक्रीसमेत गरिनेछ ।
आयोजकले यस सम्मेलनबाट ‘जिम्मेवार पर्यटन इलाम घोषणापत्र-२०८३’ जारी गर्दै पूर्वी नेपालको पर्यटनलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य राखिएको जनाएको छ ।
यसैबीच सोमबार ‘केचना-कंचनजङ्गा रेस्पोन्सिबल टुरिजम मिट-२०८३’ को लोगो सार्वजनिक गरिएको छ । इलाम नगर प्रमुख केदार थापा, उपप्रमुख बिष्णुकुमारी लिम्बू (दहाल), प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्कालगायतले लोगो साेवजनिक गरेका हुन् ।



















































