पाँचथरः लायन्स क्लब अफ श्रीअन्तु दमकको सहयोगमा मिक्लाजुङ-२ स्थित युवा वर्ष माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री, ज्याकेट, रेनकोट, डेन्टल किट तथा खेलकुद सामग्री वितरण गरिएको छ। विद्यालय परिसरमा शुक्रबार आयोजित विशेष कार्यक्रममा विपन्न तथा विपद् प्रभावित बालबालिकालाई लक्षित गर्दै सामग्री वितरण गरिएको हो। क्लबले करिब रु. १ लाख ५० हजार बराबरको डट पेन, कपी, ज्याकेट, रेनकोट तथा खेलकुद सामग्री विद्यालयलाई हस्तान्तरण गरेको विद्यालय प्रशासनले जनाएको छ।कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जंग बहादुर थापालाई हस्तान्तरण सामग्री हस्तान्तरण गरिएको जनाइएको छ । यस अवसरमा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अमराज माखिम र उपाध्यक्ष सन्तोष शेर्माको विशेष उपस्थितिमा विद्यार्थीहरूलाई सामग्री वितरण गरिएको थियो।
अतिथिहरुले यस्ता सामाजिक संस्थाहरूको सक्रियताले ग्रामीण क्षेत्रका विद्यालय र विद्यार्थीहरूको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।लायन्स क्लब इन्टरनेशनल विश्वकै सबैभन्दा ठूलो सामाजिक सेवा संस्था मध्ये एक मानिन्छ। नेपालमा यस संस्थाले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, आँखा उपचार, दन्त स्वास्थ्य तथा विपन्न समुदायका लागि विभिन्न सेवा कार्यक्रम सञ्चालन गर्दै आएको छ।
लायन्स क्लब अफ श्रीअन्तु दमकले यसअघि पनि इलामको माङसेबुङ–४, झापाका अनाथ बाल आश्रम, पाँचथरका विभिन्न शैक्षिक संस्था तथा दुर्गम क्षेत्रका विद्यालयहरूमा शैक्षिक तथा राहत सामग्री वितरण गर्दै आएको छ। साथै, आँखा उपचार शिविर, निःशुल्क भोजन, अपाङ्गता भएका व्यक्तिहरूका लागि, सामग्री सहयोग तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराउने कार्यमा सक्रिय रहँदै आएको छ।
कार्यक्रममा बोल्दै आयोजक पक्षले बालबालिकाको आधारभूत आवश्यकता पूरा गर्न र सिकाइ वातावरण सुधार गर्न यस्ता सामाजिक सहयोग कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएको छ।विद्यालय पक्षले प्राप्त सामग्रीले विद्यार्थीहरूको अध्ययनप्रतिको उत्साह बढ्ने र शैक्षिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ। क्लबका संयोजक सुवास गड्तौलासहित १० सदस्यीय टोलीलाई विद्यालय परिवारले हार्दिक धन्यवाद तथा आभार प्रकट गरेको छ। साथै, यस्ता कार्यक्रम दुर्गम क्षेत्रका अन्य विद्यालय तथा अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा समेत विस्तार हुनुपर्ने अपेक्षा स्थानीयले गरेका छन्।



















































