घरमै आम्दानीको बाटो खोल्दै फाल्गुनन्द गाउँपालिका, बाँसका सामाग्री बनाउने सीप सिकाउँदै

  युद्धबहादुर बोहोरा
98 Shares

पाँचथरः  फाल्गुनन्द गाउँपालिकाको १ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोगमा १० दिने मुढा बुनाई तालिम सुरु भएको छ। फाक्तेप सामुदायिक सिकाई केन्द्र, फाल्गुनन्द-५, पाँचथरको आयोजनामा शुक्रबार ५ नम्बर वडास्थित याम्बात्पुङमा तालिम सुरु गरिएको हो। कार्यक्रमको उद्देश्य स्थानीय समुदायलाई सीपमूलक तथा आयआर्जनमुखी गतिविधिमा सक्षम बनाउँदै आत्मनिर्भर बनाउने रहेको छ।

सामुदायिक सिकाई केन्द्रका अध्यक्ष बलीराज नेम्वाङको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य केन्द्रका सदस्य सूर्य प्रकाश चेम्जोले राखेका थिए भने कार्यक्रमको सञ्चालन केन्द्रकी सचिव तथा सञ्चालिका मिना सम्बाहाम्फे चेम्जोङले गरेकी थिइन्।केन्द्रले बाँस तथा मुढा बुनाईसँग सम्बन्धित सीप विकासलाई प्राथमिकता दिँदै यसअघि तरकारी खेती, ढाका बुनाई, मकैको खोष्टाबाट फुल बनाउने तथा बाँसका सामग्री निर्माणजस्ता विविध आयमूलक तालिमहरू सञ्चालन गर्दै आएको छ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष ठाकुरसिंह नेम्वाङले यस्ता सीपमूलक तालिमहरूले स्थानीयलाई आत्मनिर्भर बनाउने र गाउँमै रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरे। उनले सिकेको सीपलाई व्यवहारमा उतार्न सके मात्र तालिमको वास्तविक सफलता हासिल हुने उल्लेख गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता पनि जनाए। यसैबीच उपाध्यक्ष नेम्वाङले फाल्गुनन्द ५ का अपाङ्गता भएका कुशल उद्यमी दिपेन्द्र चेम्जोङले बाँसका सामग्री निर्माण गरी विश्व बजारसम्म पुर्याएर आम्दानी गर्दै आएको उदाहरण प्रस्तुत गर्दै यस्ता सीपमूलक तालिमहरूले व्यवहारिक सीप विकास र आत्मनिर्भरतामा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

विशेष अतिथि ५ नम्बर वडाध्यक्ष विष्णुकुमार चेम्जोङले फाल्गुनन्दमा सञ्चालन भइरहेका सीपमूलक तालिमहरूले स्थानीय स्रोत-साधनको उपयोग गर्दै आत्मनिर्भर समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताए। उनले बाँस तथा मुढा बुनाईजस्ता घरेलु उद्योगले घरमै बसेर आम्दानी गर्न सकिने अवसर सिर्जना गरेको उल्लेख गर्दै वडा स्तरबाट आवश्यक सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे।

त्यसैगरी विशेष अतिथि पालिका शिक्षा शाखा प्रमुख मेदनी प्रसाईँले शिक्षा केवल औपचारिक शिक्षामा सीमित नभई सीप विकाससँग जोडिनु आवश्यक रहेको बताए। उनले यस्ता तालिमहरूले स्थानीय युवायुवती तथा महिलाहरूलाई आत्मनिर्भर बनाउने र व्यावहारिक जीवनोपयोगी सीप प्रदान गर्ने भएकाले पालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए। कार्यक्रममा फाल्गुनन्द ४ र ५ का महिला तथा पुरुष गरी १५ जना सहभागीलाई प्रशिक्षक मणिराज खनालले प्रशिक्षण दिइरहेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार