
चुलाचुली : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका स्थानीय तहमा भूमि प्रशासन सम्बन्धी सेवा विस्तार गर्ने निर्णय गरेसँगै चुलाचुली गाउँपालिकामा पनि भूमि र नापी सेवा सञ्चालन हुने निश्चित भएको छ । चुलाचुलीमा भूमि प्रशासन कार्यालय भवन निर्माण र सेवा विस्तारको प्रक्रिया अगाडि बढेपछि स्थानीयवासी उत्साहित भएका छन् ।
नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहबाटै सेवा सञ्चालन गर्ने उद्देश्यले देशभरका ३५ स्थानीय तह छनोट गर्ने निर्णय गरेको दस्तावेज सार्वजनिक भएको छ । पहिलो चरणमा छनोट भएका स्थानीय तहमध्ये चुलाचुली गाउँपालिका पनि परेको छ । मन्त्रालयले भूमि प्रशासन सम्बन्धी सेवा विस्तारका लागि भूमि र नापी विभागलाई आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि चुलाचुलीमा सेवा सञ्चालनको बाटो लगभग सुनिश्चित बनेको हो ।
हालसम्म सामान्य नापी, जग्गा नामसारी, रोक्का फुकुवा, कित्ताकाट तथा अन्य मालपोत सम्बन्धी सेवाका लागि चुलाचुलीवासीले जिल्ला सदरमुकाम वा देउमाईको मालपोत कार्यलय धाउनुपर्ने बाध्यता थियो । सेवा लिनकै लागि दिनौं समय खर्चिनुपर्ने, यातायात खर्च व्यहोर्नुपर्ने तथा सर्वसाधारणले सास्ती खेप्नुपर्ने अवस्था रहेको थियो ।
अब गाउँपालिकामै सेवा सञ्चालन हुने भएपछि स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष राजेन्द केरुङले बताए । ‘हामीले पटकपटक संघीय सरकारसँग मागपत्र पेश गरेका थियौँ,’ अध्यक्ष केरुङले भने, ‘यसपटक सफल भएका छौं, यसका लागि चुलाचुली सरकार संघीय सरकारप्रति आभार प्रकट गर्दछ ।’
स्थानीयस्तरमा भूमि प्रशासन सेवा विस्तार हुनु चुलाचुलीका लागि ठूलो उपलब्धिको रूपमा हेरिएको छ ।




















































