
माङसबेुङ : लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा केलाङ (च्याब्रुङ नाच) को संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले किरात याक्थुङ चुम्लुङले यही जेठ १६ गते माङसेबुङ गाउँपालिका–१ गजुरमुखीमा एक दिने वृहत् केलाङ प्रदर्शन कार्यक्रम आयोजना गर्ने भएको छ ।
माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोग र किरात याक्थुङ चुम्लुङ माङसेबुङ गाउँ समितिको आयोजनामा हुने केलाङ प्रदर्शनको तयारी तीव्र पारिएको आयोजकका अध्यक्ष मनरस लिम्बू (बिपन) ले जानकारी दिए ।
कार्यक्रममा इलाम र पाँचथरका चुम्लुङकर्मी, लिम्बू अगुवा, कलाकार तथा सांस्कृतिक समूहहरूको सहभागिता रहनेछ । विशेषगरी पाँचथर र इलामका विभिन्न पालिका तथा वडाबाट एक हजार च्याब्रुङ कलाकार सहभागी गराउने तयारी गरिएको छ ।
लिम्बू समुदायको मौलिक सांस्कृतिक पहिचान संरक्षण, युवापुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि तथा स्थानीय सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ कार्यक्रम तय गरिएको अध्यक्ष लिम्बूले बताए । कार्यक्रममा सामूहिक तथा छुट्टाछुट्टै केलाङ प्रदर्शन, सांस्कृतिक झाँकी, मौलिक भेषभूषा प्रदर्शन, स्थानीय सांस्कृतिक प्रस्तुतिलगायतको कार्यक्रम सञ्चालन हुनेछन् ।
पछिल्लो समय आधुनिकता र पुस्तान्तरणको अभावका कारण मौलिक संस्कृति संकटमा पर्न थालेकाले कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष लिम्बूले बताए । ‘केलाङ केवल नाच वा बाजा मात्र होइन, यो लिम्बू समुदायको इतिहास, सभ्यता र सांस्कृतिक पहिचानसँग जोडिएको अमूल्य सम्पदा हो,’ उनले भने, ‘युवापुस्तालाई मौलिक संस्कृतिसँग जोड्दै यसको संरक्षण र पुस्तान्तरण गर्नु अहिलेको आवश्यकता हो ।’

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले स्थानीय जातजातिको कला, संस्कृति र पहिचानको संरक्षण गाउँपालिकाको प्राथमिकतामा रहेको बताए । उनले यस्ता कार्यक्रमले समुदायमा सांस्कृतिक जागरण ल्याउनुका साथै माङसेबुङको सांस्कृतिक पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘मौलिक संस्कृतिको संरक्षण केवल एक समुदायको विषय होइन, यो सम्पूर्ण समाजको साझा दायित्व हो,’ अध्यक्ष राईले भने ।
गाउँपालिका उपाध्यक्ष विवनोदकुमार नेम्बाङले केलाङ जस्ता मौलिक सांस्कृतिक सम्पदालाई पुस्तान्तरण गर्न स्थानीय तह, समुदाय र संघसंस्थाबीच सहकार्य आवश्यक रहेको बताए । उनले युवापुस्तालाई संस्कृति संरक्षण अभियानमा जोड्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरे ।
कार्यक्रमका लागि माङसेबुङ गाउँपालिकाले सात लाख रुपैयाँ विनियोजन गरेको छ ।


















































