माङसेबुङमा वृहत् साकेला सिली प्रदर्शनी हुँदै

  नयाँ बुलन्द
112 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा किरातीहरूको महान् चाड उभौलीको अवसर पारेर वृहत् साकेला सिली प्रदर्शनी कार्यक्रम आयोजना हुने भएको छ । यही जेठ २ गते शनिबार माङसेबुङ गाउँपालिका-६ स्थित हस्टेमा आयोजना हुने कार्यक्रममा झापा, इलाम तथा पाँचथरका विभिन्न साकेला तथा केलाङ टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

साकेला सिली उभौली व्यवस्थापन मूल तयारी समितिका सचिव ध्रुव कोयू राईका अनुसार कार्यक्रममा झापा र इलामका १९ वटा साकेला टोली सहभागी हुनेछन् भने पाँचथरबाट एक केलाङ (च्याब्रुङ नाच) टोली पनि आउनेछन् ।

‘साकेला सिली केवल नाच मात्र नभई किराती सभ्यता, इतिहास र पहिचानको जीवन्त अभिव्यक्ति हो,’ उनले भने, ‘नयाँ पुस्तामा आफ्नो भाषा, संस्कार र संस्कृतिप्रति आकर्षण बढाउने उद्देश्यले कार्यक्रमलाई अझ व्यवस्थित र भव्य बनाउन लागेका छौँ ।’

कार्यक्रम सम्पन्न गर्न माङसेबुङ गाउँपालिकाले यसपटक पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको सचिव राईले जानकारी दिए । गाउँपालिका अध्यक्ष हेमन्त राईले स्थानीय कला, संस्कृति र मौलिक पहिचान संरक्षणका लागि कार्यक्रम आयोजना गर्न गाउँपालिकाले आर्थिक सहयोग गरेको बताए ।

‘किराती समुदायको मौलिक संस्कृतिलाई संरक्षण र पुस्तान्तरण गर्न यस्ता कार्यक्रम अत्यन्त आवश्यक छन्,’ अध्यक्ष राईले भने, ‘साकेला सिली हाम्रो सामूहिक पहिचान र सभ्यताको धरोहर भएकाले यसको प्रवर्द्धनमा गाउँपालिकाले सदैव साथ दिनेछ ।’

आयोजकका अनुसार कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई प्रमुख अतिथिको रूपमा सहभागी हुनेछन् । साथै, माङसेबुङ क्षेत्रमा किरात राई यायोक्खाको संस्थागत विकास तथा भवन निर्माणमा अग्रणी भूमिका निर्वाह गरेका माङसेबुङ-६ का भक्तबहादुर एवाई लाई विशेष सम्मान गरिने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रममा साकेला सिली प्रदर्शनीसँगै स्थानीय रैथाने उत्पादन तथा खानाका परिकारहरूको समेत प्रदर्शन गरिनेछ । स्थानीय मौलिक खानपान, कृषि उत्पादन तथा सांस्कृतिक परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले रैथाने परिकारका स्टलहरू राखिने आयोजकले जनाएको छ ।

किरात समुदायले वर्षमा दुई पटक उभौली (धिरिनाम) र उधौली (छिरिनाम) पर्व मनाउने परम्परा रहेको छ । विशेष गरी वैशाखे पूर्णिमामा मनाइने उभौलीलाई बाली लगाउने समयको शुभारम्भका रूपमा लिने गरिन्छ । यस अवसरमा राम्रो वर्षा होस्, प्राकृतिक विपत्ति नआओस्, रोगव्याधि नलागोस् तथा सुख-शान्ति कायम रहोस् भन्ने कामना गरिन्छ ।

त्यसैगरी मंसिरे पूर्णिमामा मनाइने उधौली पर्वमा राम्रो बाली उत्पादन भएको, धन–सम्पत्ति प्राप्त भएको तथा आगामी समय पनि सुखद् रहोस् भन्ने कामना गर्दै उत्सव मनाउने गरिन्छ ।

प्रकृति, चराचुरुङ्गी तथा जीवजन्तुको चालढालको नक्कल गर्दै ढोल र झ्याम्टाको तालमा सामूहिक रूपमा नाचिने साकेला सिली पछिल्लो समय नयाँ पुस्तामाझ झन् लोकप्रिय बन्दै गएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी हुने यो सांस्कृतिक नृत्य किरात समुदायको मौलिक पहिचानका रूपमा स्थापित छ ।

उभौली र उधौली पर्वलाई किरात समुदायअन्तर्गत राई, लिम्बू, याक्खा, थामी र सुनुवार जातिले प्रमुख सांस्कृतिक चाडका रूपमा मनाउँदै आएका छन् । माङसेबुङमा हुने यस वर्षको वृहत् साकेला सिली प्रदर्शनीले किराती संस्कृतिको संरक्षण, पुस्तान्तरण तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको आयोजकका सचिव राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार