
चुलाचुली : माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा चुलाचुली गाउँपालिका जिल्लाकै उत्कृष्ट स्थानीय तहका रूपमा स्थापित भएको छ । विद्यार्थी उत्तीर्ण प्रतिशतका आधारमा चुलाचुली गाउँपालिकाले इलामका १० स्थानीय तहमध्ये पहिलो स्थान हासिल गरेको हो ।
सार्वजनिक गरिएको तथ्यांकअनुसार चुलाचुली गाउँपालिकाभित्र रहेका ९ वटा विद्यालयबाट एसईई परीक्षामा सहभागी विद्यार्थीमध्ये ८१ दशमलव ६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो प्रतिशत जिल्लाका अन्य सबै स्थानीय तहको तुलनामा उच्च रहेको छ ।
शैक्षिक उपलब्धिमा निरन्तर सुधार गर्दै आएको चुलाचुली गाउँपालिकाले यस वर्षको एसईई नतिजामार्फत जिल्लाभर सकारात्मक सन्देश दिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । उनका अनुसार गाउँपालिकाले विद्यालय व्यवस्थापन, शिक्षक परिचालन, विद्यार्थी नियमितता तथा अभिभावकको सक्रिय सहभागितालाई प्राथमिकतामा राख्दै आएको छ ।
एसईई २०८२ को नतिजाअनुसार इलाम नगरपालिका ८० प्रतिशत उत्तीर्ण दरसहित दोस्रो स्थानमा रहेको छ भने देउमाई नगरपालिका ले ७३ दशमलव ३३ प्रतिशत उत्तीर्ण दरसहित तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी माई नगरपालिका मा ६८ दशमलव ५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने सूर्योदय नगरपालिका मा ६२ दशमलव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । रोङ गाउँपालिका को उत्तीर्ण प्रतिशत ५९ दशमलव ७१ रहेको छ ।
यस्तै फाकफोकथुम गाउँपालिका मा ४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने माइजोगमाई गाउँपालिका मा ४१ दशमलव ७१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
तथ्यांकअनुसार सन्दकपुर गाउँपालिका मा ३६ दशमलव ८९ प्रतिशत तथा माङसेबुङ गाउँपालिका मा ३३ दशमलव ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यस वर्षको नतिजाले जिल्लाभित्रका स्थानीय तहबीचको शैक्षिक अवस्था र गुणस्तरमा रहेको अन्तरलाई समेत उजागर गरेको छ । शहरी क्षेत्र र ग्रामीण क्षेत्रबीचको शैक्षिक पहुँच, शिक्षक उपलब्धता, भौतिक पूर्वाधार, विद्यार्थीको नियमितता तथा अभिभावकको शैक्षिक चेतनाले नतिजामा प्रभाव पार्ने गरेको देखिएको छ ।
शिक्षा क्षेत्रमा पछिल्लो समय स्थानीय तहहरूले लगानी बढाउँदै लगे पनि केही ग्रामीण पालिकामा अपेक्षाकृत कमजोर नतिजा देखिएकाले अब गुणस्तरीय शिक्षामा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याइएको छ । विशेषगरी कमजोर नतिजा आएका स्थानीय तहमा विद्यालयको शैक्षिक वातावरण सुधार, शिक्षक व्यवस्थापन, अतिरिक्त कक्षा सञ्चालन तथा विद्यार्थी केन्द्रित कार्यक्रम प्रभावकारी बनाउनुपर्ने सरोकारवालाहरूको भनाइ छ ।
चुलाचुली गाउँपालिकाको सफलताले जिल्लाका अन्य स्थानीय तहलाई पनि शैक्षिक सुधारतर्फ प्रेरित गर्नेछ । अघिल्लो वर्ष पनि चुलाचुली गाउँपालिका जिल्लाकै प्रथम भएको गाउँपालिका अध्यक्ष केरुङले बताए ।


















































