छ दशकको यात्रामा लालबहादुर आविः खरको छानोबाट आधारभूत शिक्षाको केन्द्रसम्म, हालसम्म अक्षयकोष १२ लाख नाघ्यो

  युद्धबहादुर बोहोरा
742 Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिका-७ वासाँगुस्थित लालबहादुर आधारभूत विद्यालयले बुधबार आफ्नो पहिलो ६०औँ वार्षिकोत्सव भव्य, सभ्य र ऐतिहासिक रूपमा सम्पन्न गरेको छ। विद्यालयको संघर्षपूर्ण स्थापना, समुदायको योगदान, शैक्षिक उपलब्धि तथा भावी योजनालाई स्मरण गर्दै आयोजित कार्यक्रममा स्थानीय समुदाय, अभिभावक, भूतपूर्व विद्यार्थी, शिक्षक, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बेको प्रमुख आतिथ्यता तथा पूर्व गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयको दीर्घ शैक्षिक यात्रा, योगदानकर्ताहरूको भूमिका तथा विकास प्रक्रियालाई विस्तृत रूपमा प्रस्तुत गरिएको थियो।

कार्यक्रममा विद्यालय स्थापना, संरक्षण तथा विकासमा योगदान पुर्‍याउने पूर्व प्रधानाध्यापक, पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष, जग्गादाता, अक्षयकोष दाता, सौजन्यकर्ता तथा विद्यालयप्रति आत्मीयता राख्ने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।यस संस्थाका संस्थापक सेक्रेटरी तथा शिक्षण पेशामा समते संलग्न रहनु भएका जेष्ठ अभिभावक ९२ वर्षिय देशराज कुरुम्बाङ, संस्थापक प्रअ ८५ वर्षिय तारीणी प्रसाद रिजाल साथै लामो समय कार्यरत भइ अवकास भएका यस विद्यालयका निवर्तमान प्रअ डम्वर हाङ आङ्देम्बेसहित विभिन्न विधाका २७ जना व्यक्तित्वलाई सम्मान गरिएको विद्यालयले जनाएको छ।

वि.सं. २०२२ सालमा स्थानीय समुदायको पहलमा स्थापना भएको यस विद्यालयले प्रारम्भमा चन्द्रोमानो देश नामबाट पठनपाठन सुरु गरेको थियो। त्यसपछि सिद्धदेवी देउराली प्राथमिक विद्यालय हुँदै समयक्रमसँगै हाल लालबहादुर आधारभूत विद्यालयका रूपमा स्थापित भएको हो। विद्यालयको नामकरण तत्कालीन समाजसेवी लालबहादुर आङ्देम्बे तथा उहाँको परिवारले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानको सम्मानस्वरूप गरिएको प्रतिवेदनमा उल्लेख छ। विद्यालयको स्थापना, संरक्षण र प्रारम्भिक सञ्चालनमा आङ्देम्बे परिवार तथा स्थानीय समाजसेवीहरूको महत्वपूर्ण भूमिका रहेको पनि कार्यक्रममा स्मरण गरिएको थियो।

विद्यालयको प्रारम्भिक अवस्था अत्यन्त कठिन र चुनौतीपूर्ण थियो। दुई कोठे भवनमा खरको छानो हालेर पठनपाठन सुरु गरिएको थियो। पर्याप्त भौतिक पूर्वाधार नहुँदा कहिले रुखको छहारी, कहिले खुला चौर, त कहिले बजारका पसलमुनि समेत कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको ऐतिहासिक प्रतिवेदन विवरण प्रस्तुत गरिएको थियो। विद्यालय भवन निर्माण तथा शैक्षिक विकासमा चन्द्रध्वोज आङ्देम्बे, देशराज कुरुम्बाङ, जहानलाल आङ्देम्बे, कृष्णराज आङ्देम्बे लगायत स्थानीय अगुवाहरूको योगदानलाई विशेष रूपमा स्मरण गरिएको थियो। कार्यक्रमकै अवसरमा संस्थापक कोषाध्यक्ष स्व. जहानलाल आङ्देम्बे र स्व. गाजमाया शेर्माको स्मृतिमा ‘जहानलाल-गाजमाया’ स्मृति अक्षयकोष स्थापना गरिएको छ। उक्त कोषका लागि उहाँहरूका छोरीहरू आसमती आङ्देम्बे, देवीमाया आङ्देम्बे (फागो) फिदिम-१४ लुङरुप्पा, चन्द्रमाया आङ्देम्बे (कुरुम्बाङ) फाल्गुनन्द-६ र फूलकुमारी आङ्देम्बे (खजुम) बिर्तामोड-५ झापा निवासीले संयुक्त रूपमा ५ लाख रुपैयाँ सहयोग गरेका हुन्। सो रकम विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रकुमार कुरुम्बाङ र प्रधानाध्यापक  सन्ध्या नेम्वाङलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको थियो।

विद्यालयमा यसअघि विभिन्न दाताबाट स्थापना भएका अक्षयकोषहरू छन् । ती मध्ये पहिलो बलबहादुर चेम्जोङ रु. २ लाख २७ हजार ३०६ रुपैयाँ, विरेन्द्रकुमार आङ्देम्बे  रु. १ लाख ५० हजार रुपैयाँ, मिनराज रिजाल रु. २५ हजार रुपैयाँ  र  त्रिशूले माङ्जाबुङ खानेपानी उपभोक्ता समिति रु. ३ लाख ५० हजार रुपैयाँ र नयाँ ‘जहानलाल-गाजमाया’ स्मृति अक्षयकोष  ५ लाख रुपैयाँ थपिएसँगै विद्यालयको कुल अक्षयकोष रकम रु. १२ लाख ७ हजार ३०६ रुपैयाँ पुगेको छ। उक्त अक्षयकोषको ब्याजबाट विद्यालयले निजी शिक्षक व्यवस्थापन, जेहेन्दार तथा गरीब विद्यार्थीलाई छात्रवृत्ति, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा शैक्षिक सामग्री वितरण गर्दै आएको विद्यालयले जनाएको छ। यसले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको बताइएको छ।

कार्यक्रममा प्रधानाध्यापक सन्ध्या नेम्वाङले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको ऐतिहासिक विकास यात्रा, वर्तमान उपलब्धि तथा आगामी योजनाबारे विस्तृत जानकारी दिइन्। यसअघि शिक्षककै पहलमा विद्यालयमा अध्ययनरत ८२ जना विद्यार्थीलाई ट्र्याकसुट र टिसर्ट वितरण गरिएको थियो। शिक्षक-शिक्षिकाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत संकलन गरेको रु. ६६ हजार दुई सय रुपैयाँबाट पोशाक खरिद गरी वितरण गरिएको थियो ।त्यस्तै, स्थानीय समाजसेवी अर्पना कुरुम्बाङले आफ्नो जन्मदिनको अवसरमा विद्यालयको दिवा खाजाका लागि ४५ थान बटुका र ४५ थान चम्चा सहयोग गरेकी थिइन्। यसअघि पनि विभिन्न व्यक्तिहरूको सहयोगमा स्वेटर तथा शैक्षिक सामग्री वितरण गरिँदै आएको विद्यालयले जनाएको छ।

विद्यालयले अझै पनि भौतिक पूर्वाधारको चुनौती भोगिरहेको छ। पुरानो ढुंगा-माटोको भवन जीर्ण अवस्थामा रहेको तथा खेलमैदानमा वर्षेनी भूक्षयको समस्या देखिँदै आएको छ। हाल खेलमैदान संरक्षणका लागि ग्याबिन वाल, घेराबारा तथा सिँढी निर्माण कार्य भइरहेको छ। चालु आर्थिक वर्षमा गाउँपालिकाबाट ग्याबिन वाल निर्माणका लागि रु. २ लाख विनियोजन भई काम अघि बढाइएको विद्यालयले जनाएको छ।विद्यालय परिसरमा तल्लो र माथिल्लो भवन जोड्ने सिँढी निर्माण सम्पन्न भइसकेको छ।

 

विद्यालयले करिब ४३ वर्षपछि क्रमशः कक्षा ६, ७ र ८ सञ्चालनको अनुमति प्राप्त गरी आधारभूत तहसम्म पठनपाठन सञ्चालन गर्दै आएको छ। साथै वि.सं. २०८० सालदेखि बालविकास कक्षा सञ्चालनमा ल्याइएको छ, जसले प्रारम्भिक बालशिक्षामा पहुँच विस्तार गरेको छ। कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष नारायण प्रसाद आङ्देम्बे र वडा नं. ७ का वडाध्यक्ष देउकुमार आङ्देम्बे विशेष अतिथिका रूपमा सहभागी थिए। विभिन्न विद्यालयका प्रधानाध्यापक, अभिभावक, विद्यार्थी तथा समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा सांस्कृतिक नृत्य तथा विविध प्रस्तुति समेत गरिएको थियो। यसै अवसरमा अतिथिहरुले विद्यालयको थप प्रगतिसहितको शुभकामना व्यक्त गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रकुमार कुरुम्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी सबैप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको थियो।

छ दशकको लामो यात्रामा खरको छानाबाट सुरु भएको लालबहादुर आधारभूत विद्यालय आज समुदायको निरन्तर सहयोग, दाताहरूको योगदान र शिक्षकहरूको समर्पणका कारण आधारभूत शिक्षाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको छ।अक्षयकोष १२ लाख नाघ्नु, पूर्वाधार थप विस्तार हुनु र शैक्षिक गतिविधि मजबुत बन्नु विद्यालयको दीर्घकालीन उपलब्धिका रूपमा लिइएको छ। आगामी दिनमा गुणस्तरीय शिक्षा, प्रविधिमैत्री शिक्षण प्रणाली र पूर्वाधार विकासलाई थप सुदृढ बनाउने लक्ष्य विद्यालयले लिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार