सक्रान्ति आधारभूत विद्यालयलाई कृषि विकास बैंकद्वारा कम्प्युटर तथा सामग्री हस्तान्तरण

  सलिना भण्डारी
91 Shares

पाँचथर : फिदिम नगरपालिका-१२, नाङ्गिनस्थित सक्रान्ति आधारभूत विद्यालयलाई कृषि विकास बैंकले कम्प्युटर, प्रिन्टरसहित विभिन्न आवश्यक कार्यालय सामग्री हस्तान्तरण गरेको छ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा प्रशासनिक कार्यलाई प्रभावकारी बनाउने उद्देश्यसहित सोमबार उक्त सामग्री उपलब्ध गराइएको हो। कृषि विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विनियोजित बजेटबाट सामग्री प्रदान गरिएको कृषि विकास बैंक फिदिम शाखाका प्रबन्धक डिल्लीराम सुवेदीले जानकारी दिए। कार्यक्रममा फिदिम नगरपालिका शिक्षा शाखा प्रमुख निर्मला दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। साथै बैंकका कर्मचारीहरू प्रज्वल तुम्बापो, एलिसा जवेगू र नवीन चापागाई, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

उक्त अवसरमा प्रमुख अतिथि दाहालले विद्यालय र बैंकबीचको सहकार्यले शिक्षाको गुणस्तर सुधारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरिन्। उनले यस्ता सहयोगले विद्यालयको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने बताइन्।

विद्यालयका प्रधानाध्यापक टंकप्रसाद चापागाईले प्राप्त सामग्रीले शैक्षिक तथा प्रशासनिक कार्यमा ठूलो सहजता ल्याउने उल्लेख गर्दै बैंकप्रति आभार व्यक्त गरे। उनले डिजिटल शिक्षण प्रणाली सुदृढ बनाउन यस्ता सहयोग महत्वपूर्ण हुने बताए।

कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका सदस्य जसबहादुर राईले विद्यालयको विकासमा योगदान पुर्‍याएको भन्दै कृषि विकास बैंकप्रति धन्यवाद व्यक्त गरे। कार्यक्रमको सञ्चालन कृषि विकास बैंक फिदिम शाखाका कर्मचारी प्रज्वल तुम्बापोले गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार