इलाम इलाम नगरपालिकाका तीनवटा वडाहरू ९, ११ र १२ को संगम स्थल ‘सटके पुवाखोला ‘ यतिबेला सडक संजालका हिसाबले निकै टाढा बनेको छ । विगत लामो समयदेखि पक्की पुलको प्रतीक्षामा रहेका यहाँका स्थानीय बासिन्दाहरू प्राकृतिक विपत्ति र सरकारी ढिलासुस्तीको दोहोरो मारमा परेका छन्।
गत असोज महिनामा आएको भीषण वर्षाका कारण साङ्गरुम्बा खण्डमा रहेको पहुँच मार्ग (बाटो) पूर्ण रूपमा बगाएपछि यस क्षेत्रको जनजीवन अस्तव्यस्त बनेको हो। यसअघि यहाँ पुवाखोलामा एउटा झोलुङ्गे पुल सञ्चालनमा थियो, जसले नागरिकहरूलाई सदरमुकामसम्म जोड्ने सहारा दिएको थियो। विगतका वर्षहरूमा बर्खाकै समयमा पनि स्थानीयले दुःख-सुख मोटरसाइकलसमेत सोही झोलुङ्गे पुलबाट तारेर सदरमुकाम आउजाउ गर्ने गरेका थिए।
तर, यसपटकको बाढी र पहिरोले पुल आसपासको जमिन र बाटो नै सखाप पारेपछि सोयाक, सिद्धिथुम्का र साङ्गरुम्बाका बासिन्दाहरू पूर्ण रूपमा सडक सञ्जालबाट काटिएका छन्। हाल विकल्प नहुँदा वृद्धवृद्धा, बिरामी र विद्यार्थीहरू जोखिम मोलेर खोलाबाटै वारपार गर्न बाध्य छन्।
”हिउँदमा त खोला सुक्खा होला र तरौँला, तर वर्षा सुरु भएपछि हाम्रो सम्बन्ध सदरमुकामसँग विच्छेद हुन्छ। बिरामी पर्दा अस्पताल लैजाने बाटोसम्म छैन,” स्थानीय युवराज गुरागाईले भने।
सटकेमा पक्की पुल निर्माणका लागि ठेक्का सम्झौता भइसकेको भए पनि निर्माण कार्यले गति लिन सकेको छैन। कागजमा योजना र बजेट विनियोजन भए पनि कार्यस्थलमा निर्माण व्यवसायीको उपस्थिति नहुँदा स्थानीयमा निराशा छाएको छ। पक्की पुल नबन्दासम्म यस भेगको आर्थिक र सामाजिक विकास ठप्प जस्तै बनेको छ।
सोयाक र सिद्धिथुम्काका नागरिकले स्थानीय सरकार, प्रदेश सरकार र संघीय मन्त्रालयसम्म आफ्ना गुनासो पुर्याइसकेका छन्। तर, “ठेक्का लागेको छ” भन्ने आश्वासन बाहेक ठोस प्रगति देखिएको छैन। ठेकेदारको लापरबाही हो वा प्राविधिक समस्या, यसबारे सम्बन्धित निकायले स्पष्ट जवाफ दिन सकेको छैन।
इलाम नगरपालिका ९, ११ र १२ का जनप्रतिनिधिहरूले यस विषयलाई गम्भीरतापूर्वक लिएर निर्माण व्यवसायीलाई काममा आउन दबाब दिनु आवश्यक देखिन्छ। बाटो बगेको ठाउँमा तत्कालै अस्थायी ट्र्याक खोल्ने र पक्की पुलको कामलाई ‘युद्धस्तर’ मा अगाडि बढाउनु नै अहिलेको एकमात्र विकल्प हो।
हिउँदको समय सकिनै लाग्दा र पुनः वर्षायाम नजिकिँदै गर्दा यश भेगका नागरिकमा चिन्ता चुलिएको छ। यदि समयमै पुल र बाटोको व्यवस्था नभए यस क्षेत्रका हजारौँ नागरिक पुनः एकपटक “बर्खे बन्दी” बन्न विवश हुनेछन्।




















































