
पाँचथरः फाल्गुनन्द गाउँपालिका–५ स्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेब्चोक डाँडामा नयाँ वर्ष २०८३ को अवसरमा ‘प्रथम नेब्चोक पर्यटन महोत्सव–२०८२’ आयोजना गरिएको थियो। नेब्चोक पर्यटन विकाश संस्थाको आयोजनामा संचालन गरिएको महोत्सव विविध कार्यक्रमसहित उद्घाटनदेखि समापनसम्म भव्य रूपमा सम्पन्न भएको छ। महोत्सवको उद्घाटन पाँचथरबाट निर्वाचित संघीय सांसद नेरेन्द्र कुमार केरुङले गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सूर्योदय देखिने नाम्तोकका नामले परिचित नेब्चोक डाँडा सिङ्गो पाँचथरकै गौरवको विषय भएको उल्लेख गर्दै यस क्षेत्रलाई पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार, प्रचार-प्रसार र लगानी आवश्यक रहेको बताए। उद्घाटनकै दिनदेखि महोत्सवमा स्वागत नृत्य, ढोल-झाँकीसहित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो भने भलिबल प्रतियोगिता समेत सुरु गरिएको थियो। महोत्सव अवधिभर धाननाच, चण्डीनाच, झाँकीनाच, केलाङ नृत्य लगायतका कार्यक्रमले दर्शकलाई आकर्षित गरेका थिए।
महोत्सवअन्तर्गत सम्पन्न भलिबल प्रतियोगिताको उपाधि फालेलुङ-२ टिमले जितेको छ। फाइनल खेलमा उपविजेता मिक्लाजुङ-३ लाई सोझो सेटमा पराजित गर्दै फालेलुङ-२ विजेता बनेको हो। विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले ३० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडी फालेलुङकै जर्सी नम्बर ६ का निसान अधिकारी घोषित भए। योसँगै फालेलुङ-२ ले यस पालिकाको विभिन्न स्थानमा आयोजित भलिबल प्रतियोगितामा लगातार तेस्रो पटक उपाधि जित्दै ह्याट्रिक पूरा गरेको छ। पहिलो सेमीफाइनलमा मिक्लाजुङ-१ र मिक्लाजुङ-३ बीच प्रतिस्पर्धा भएको थियो, जसमा मिक्लाजुङ३ ले सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो। दोस्रो सेमीफाइनलमा फालेलुङ-२ र मिक्लाजुङ-१ (पीवासी) बीच भएको खेलमा फालेलुङ-२ ले पनि सोझो सेटमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको थियो।प्रतियोगिताका खेलमा अम्पायरहरू रोशन दाहाल र कवि ग्यालबा तामाङको निर्णायक भूमिकामा सञ्चालन गरिएको आयोजकले जनाएको छ। समापन समारोहमा उनीहरूलाई सम्मान समेत गरिएको थियो।
चैत ३० गतेदेखि सुरु भई वैशाख २ गतेसम्म सञ्चालन भएको महोत्सवको समापन समारोहमा संस्थापक संरक्षक मणिचन्द्र चेम्जोङले विजयी खेलाडी तथा टिमलाई पुरस्कार वितरण गरेका थिए। कार्यक्रम संस्थाका अध्यक्ष बीरबहादुर चेम्जोङको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन कैलाश शेर्माले गरेका थिए। संस्थाका सचिव चन्द्र प्रकाश चेम्जोङले कार्यक्रमसम्बन्धी जानकारी दिए।
महोत्सव उद्घाटन समारोहमा फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बे, पालिका उपाध्यक्ष ठाकुरसिंह नेम्वाङ, मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्तकुमार शेर्मा (सन्तोष), मिक्लाजुङ-१ का वडाध्यक्ष घनेन्द्र कुमार आङ्देम्बे, फाल्गुनन्द-६ का वडाध्यक्ष नारायण प्रसाद आङ्देम्बे तथा वडा नम्बर ५ का वडाध्यक्ष बिष्णु कुमार चेम्जोङलगायत जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।उद्घाटन समारोहमा संस्थाका संस्थापक संरक्षक चेम्जोङले महोत्सवको औचित्यमाथि प्रकाश पार्दै नेब्चोक डाँडालाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय रूपमा चिनाउने उद्देश्य रहेको बताए।
महोत्सवले नेब्चोक डाँडालाई पर्यटकीय, धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा विकास गर्ने सम्भावना उजागर गरे पनि आवश्यक पूर्वाधारको अभाव भने चुनौतीका रूपमा देखिएको छ। यहाँ मोबाइल नेटवर्क राम्रोसँग नचल्ने, सहज सडक पहुँच अभाव, खेलमैदान तथा फराकिलो भूभागको कमी, पिउने पानी सवारी साधनमार्फत ओसार्नुपर्ने अवस्था, विद्युत सेवा नपुगेको, पदयात्राका लागि पूर्ण संरचना निर्माण नभएको जस्ता समस्या रहेका छन्। साथै, कार्यक्रम स्थलमा स्टेज, सभाहल, शौचालय लगायत आधारभूत पूर्वाधारको अभाव रहेको आयोजकले जनाएको छ।
इलाम-पाँचथर सिमानामा अवस्थित नेब्चोक डाँडा पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। आयोजकका अनुसार यी पूर्वाधार विकास गरिएमा यस क्षेत्रलाई पूर्वी नेपालको प्रमुख पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्न सकिने विश्वास गरिएको छ।























































