
इलामः वर्ष २०८३ को अवसरमा फाकफोकथुम–६, पोखरीमा आयोजित खुल्ला पुरुष नकआउट फुटबल प्रतियोगिताको तेस्रो संस्करणमा मेतालुङ एफसी च्याम्पियन बनेको छ।
फाइनल खेलमा मेतालुङले कर्मचारी एफसी ११ लाई ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।खेलको सुरुवातदेखि नै आक्रामक देखिएको मेतालुङ एफसीले पहिलो हाफमै खेल आफ्नो नियन्त्रणमा लिएको थियो। सन्तु लिम्बुले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए भने सुबास गुरुङले थप एक गोल गर्दै पहिलो हाफ २-० मा समाप्त भयो। दोस्रो हाफमा कर्मचारी एफसी ११ का ओशन राईले एक गोल फर्काए पनि मेतालुङका विवेक सुनुवारले अन्तिम समयमा अर्को गोल थप्दै खेल ३-१ मा टुंग्याए।
फाइनलअघि कर्मचारी एफसी ११ ले सेमिफाइनलमा कोल्बोटे एफसीलाई सडन डेथमा हराएको थियो भने मेतालुङ एफसीले केएफसी लुङसुङदाङलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि मेतालुङका सन्तु लिम्बुले जिते भने उत्कृष्ट गोलरक्षक पवन राई घोषित भए। सर्वाधिक गोलकर्ता टंक गुरुङ, उत्कृष्ट मिडफिल्डर आयुस राई र उत्कृष्ट डिफेन्डर सुदिप मगर बने।
विजेता मेतालुङ एफसीले ७० हजार ७७० रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता कर्मचारी एफसी ११ ले ४० हजार १४० रुपैयाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाएको छ।पोखरी युवा क्लबको आयोजनामा सम्पन्न प्रतियोगिता क्लबका अध्यक्ष उमेश गुरुङको अध्यक्षता तथा वडा नम्बर ६ का अध्यक्ष टंकनाथ खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। प्रतियोगितामा इलाम र पाँचथरका १६ टोली सहभागी थिए।
“विकास, अनुशासन, गतिशीलता, युवाले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ?” भन्ने नारासहित गत चैत २४ गतेदेखि सुरु भएको प्रतियोगिता वैशाख १ गते सम्पन्न भएको हो। प्रतियोगिता सञ्चालनका लागि १४० जना सहयोगीबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको क्लबका कोषाध्यक्ष नवीन अधिकारीले जानकारी दिए ।



















































