इलाम क्षेत्र नं. २ मा काँग्रेसका भेषराज आचार्यको उम्मेदवारी, मतदातामा नयाँ उत्साह

  नयाँ बुलन्द
294 Shares


इलाम : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका तर्फबाट भेषराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। लामो समयदेखि काँग्रेस राजनीतिमा सक्रिय रहँदै आएका आचार्यको उम्मेदवारीसँगै इलामेली राजनीतिमा नयाँ उत्साह र चासो थपिएको देखिन्छ।

आचार्य इलाममा लोकप्रिय, बौद्धिक र मिलनसार नेताका रूपमा परिचित छन्। उनी केवल राजनीतिक भाषणमा सीमित नेता नभई गाउँ–बस्तीका दुःख–सुखमा साथ दिने, भुईँमान्छेका वास्तविक सारथि बनेका नेताका रूपमा चिनिन्छन्। गाउँबाटै राजनीति सुरु गरेका आचार्यले आम नागरिकका समस्या नजिकबाट बुझ्दै समाधानको पहल गर्दै आएका छन्।
लामो समयदेखि नेपाली काँग्रेसको संगठन विस्तारमा सक्रिय रहँदै आएका आचार्यले पार्टीलाई गाउँ–गाउँसम्म बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्। संगठन निर्माण, कार्यकर्ता परिचालन र जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्ने उनको कार्यशैलीले उनलाई सबै वर्ग र समुदायमा स्वीकार्य बनाएको मतदाताको भनाइ छ।

आचार्यलाई दुःख बुझेका, सहयोगी र समन्वयकारी नेता मानिन्छ। विपन्न, किसान, मजदुर, युवा तथा महिलाका मुद्दालाई प्राथमिकतामा राख्दै आएका उनले व्यक्तिगत रूपमा पनि धेरैलाई सहयोग र साथ दिँदै आएका छन्। यही कारण उनीप्रति मतदाताको भरोसा बढ्दो क्रममा रहेको देखिन्छ।

यसपटकको निर्वाचनमा भेषराज आचार्यको उम्मेदवारीले इलाम क्षेत्र नं. २ का मतदाता उत्साहित देखिन्छन्। “हामीले खोजेको नेता गाउँमै भेटिन्छ, समस्या बुझ्ने र समाधान खोज्ने नेता चाहिन्छ,” भन्ने आम मतदाताको धारणा आचार्यतर्फ केन्द्रित भएको पाइन्छ। विकास, सुशासन र सामाजिक न्यायलाई आफ्नो प्रमुख एजेन्डा बनाएका आचार्यले इलामको समग्र विकासका लागि संसदमा प्रभावकारी भूमिका खेल्ने विश्वास स्थानीयले व्यक्त गरेका छन्।

राजनीतिमा शालीनता, विचारमा स्पष्टता र व्यवहारमा सरलता आचार्यको पहिचान हो। यही पहिचानका कारण उनी युवा पुस्तादेखि ज्येष्ठ नागरिकसम्म सबैको मन जित्न सफल भएका छन्। काँग्रेसभित्र मात्र नभई अन्य राजनीतिक धारका नागरिकले पनि उनलाई सकारात्मक रूपमा लिएको देखिन्छ।

निर्वाचन नजिकिँदै जाँदा इलाम क्षेत्र नं. २ मा राजनीतिक माहोल तातिँदै गएको छ। यसबीच भेषराज आचार्यको उम्मेदवारीलाई काँग्रेसका कार्यकर्ता मात्र होइन, आम नागरिकले समेत आशाको रूपमा हेरेका छन्। इलामेली जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिनिधि को हुन्छ भन्ने प्रश्नको उत्तर फागुन २१ पछि स्पष्ट हुनेछ, तर हालको माहोलले भेषराज आचार्यलाई बलियो दाबेदारका रूपमा उभ्याएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार