
इलाम : बिरामी पर्दा मात्र अस्पतालको महत्व थाहा हुन्छ भन्ने भनाइ सत्य हो, तर जब अस्पताल नजिकै भएर पनि उपचार पाउन सकिन्न, त्यो भन्दा ठूलो विडम्बना अरु के हुन सक्छ ? हामी विकासको चर्चा गर्छौं, आधुनिक प्रविधिको गाथा गाऊँछौं, तर जीवन र मृत्युको संघर्ष गरिरहेका आफ्नै गाउँका नागरिकहरूका मौन पीडालाई सुन्न नसक्नु, हाम्रो व्यवस्थाको गम्भीर असफलता हो । इलाम भन्ने बितिक्कै जहाँ प्रकृति मुस्कुराउँछ, तर बिरामीको अनुहारमा तनाव हुन्छ । जहाँ शिक्षित समाज छ, तर अझै स्वास्थ्यको पहुँच सजिलो छैन ।
यहाँ अस्पताल त छ, तर सेवा पुरा छैन । डाक्टर छन्, तर पर्याप्त छैनन् । भवन बनेका छन्, तर भित्र जीवन जोगाउने उपकरणहरू छैनन् । हो यस्तै अनेकन पिढामा छटपटाइरहेकाछन् इलामे नागरिकहरु । इलामका नागरीहरुका लागि स्वास्थ्य सेवा अझै पनि “पहुँच बाहिरको सपना” जस्तै छ । स्वास्थ्य सेवा सबैका लागि समान हुनुपर्छ भन्ने भनाइ जति मिठो छ, व्यवहारमा त्यति सहज देखिँदैन । यस्तै समस्यामा रुमलिरहेको छ इलाम जिल्ला अस्पताल, सदरमुकाम इलाम बजारमा ५० शैयाको जिल्ला अस्पताल छ । तर पर्याप्त चिकित्सक नहुँदा इलाम अस्पताल रिफर सेन्टर बन्ने खतरा बाट टाडा छैन । पर्याप्त विशेषज्ञ सेवा नहुँदा अधिकांश बिरामी झापाका महँगा अस्पताल वा भारतीय शहरमा धाउन बाध्य छन् । सरकारले इलाम अस्पताललाई ५० शैय्याको बनाएसँगै ९ विशेषज्ञ डाक्टर सहित १५ जना डाक्टरको दरबन्दी तोकेको थियो । तर अहिलेसम्म स्थाई पदपुर्ति मार्फत १ जना, प्रदेश करार र छात्रबृति करार गरेर ५ जना विशेषज्ञ र ५ जना मेडिकल अधिकृतले सेवा दिइरहेका छन् । बाँकी डाक्टरको दरबन्दी खाली छ । मेडिकल अधिकृत समेत सबै स्थायी पदपुर्ति भने होइन्न् । इलाम अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. प्रभु शाह मात्र स्थिायी पदपुर्तिका विशेषज्ञ हुन् ।
दरबन्दी अनुसारको डाक्टर र स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या हुने गरेको अस्पतालका सुचना अधिकारी डा.सुजन अधिकारीले बताए । दरबन्दी अनुसार जनशक्ति माग गरेर पत्राचार गरे पनि हालसम्म जनशक्ति नपठाएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
आउन मान्दैनन् डाक्टर
यता जिल्ला समन्वय समिति प्रमुख एबम् अस्पताल बिकास समितिका अध्यक्ष जयप्रकाश राईकाअनुसार पहाडी भुगोल र सानो क्षेत्र भएकाले डाक्टर आउनै नमान्ने गरेको गुनासो सुनाए । राईले भने ,‘करोडौं खर्च गरेर पढेका डाक्टरले एम.डी. सकेर आएपनि उसको जिवन निर्वाह हुन नसक्ने तलब सरकारले दिएको हुन्छ, छोटो समयकालागि आउनुहुन्छ फर्किहाल्नुहुन्छ । उनले भने,’लगानी,सेवा र परिवारलाई गर्नुपर्ने पालनपोषण लगायत सम्पुर्ण कुरालाई हेर्दा स्वास्थ्य क्षेत्रमा डाक्टरलाई दिनुपर्ने सेवामा सरकारले पुनर्विचार गर्नुपर्छ । अर्थात निर्वाहमुखी सेवा सुविधा भएमात्र अस्पतालमा सेवाग्राही दिन सक्छ, र हाम्रो जस्तो पहाडी भुगोलका जनताले स्वास्थ्यको सहज पहुँचको सेवा उपभोग गर्न पाउछन् ।’
इलाम अस्पतालले सीमित स्रोतसाधनमा पनि उत्कृष्ट सेवा प्रदान गर्दै
जिल्ला अस्पतालमा चिकित्सकको अभाव र सीमित स्रोतसाधनका बाबजुद पनि सेवा प्रदान भने गर्दै आएको छ । पर्याप्त विशेषज्ञ चिकित्सक नहुँदा बिरामीहरूले झापा र भारतका महँगा अस्पताल धाउनुपर्ने बाध्यता भए पनि, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले हरसम्भव प्रयास गरिरहेका छन । इलाम अस्पतालमा अहिले गाइनो,पिडियाटीसियन(बालरोग बिशेषज्ञ),अर्थोपेडिक सर्जन,एनेस्थेसियोलोजिष्ट र एमडिजिपिको बिशेषज्ञ डाक्टरहरु सहित अन्य मेडिकल अधिकृतहरुले सेवा दिइरहेका छन् ।
अस्पतालको ओपिडीमा पनि दैनिक ३/४ सय जनासम्म बिरामी आउने गरेका छन् भने एमरजेन्सीमा दैनिक ५०/६० जना बिरामी आउने गरेको अस्पतालका सुचना अधिकारी डा. सुजन अधिकारीको भनाई छ । अधिकारीले भन्नुभयो,“हामीले जे जति सम्भव भएर र भ्याए सम्म सेवा दिइरहेका छौ र दिइ नै रहने छौ, तर बेला बेला धेरै नै समस्या हुन्छ तर पनि हामी सेवा दिनबाट कहिल्यै पछि हटेका छैनौ । ५० सैयाको अस्पताल भएरपनि इलाम सहित पुर्बि पहाडका नागरीकले जति सेवा पाउनुपर्ने हो त्यो भने पक्कै हामीले दिन सकेका छौनौ कारण एउटै मात्र हो दरबन्दी अनुसारको जनशक्ति नै नहुनु र भएका जनशक्तिले पनि आवश्यक परेको उपकरण औजार प्रयोग गर्न नपाउनु ।”
अस्पतालमा बिरामीको चाप बढीरहेपनि उपचार गर्न आउनेलाई स्वास्थ्यकर्मीले २४ सै घण्टा खटेर सेवा प्रबाह गरिरहेका छन् । जटिल अवस्थाका बिरामी बाहेक अन्य बिरामीलाई जिल्ला बाहिरका अस्पतालमा रेफर भने अस्पतालले नगरेको जनाएको छ । यस्तै मृगौला पूर्ण रुपमाबिग्रिएर काम गर्न छोडेका बिरामीहरुलाई नयाँ जीवनदिने होमोडायोलाइसिस सेवा इलाम अस्पतालमा संचालित छ । दाताबाट मृगौलालिई ट्रान्सप्लान्ट गर्न नसक्ने बिरामीहरुलाई सेवा दिन इलाममा प्रथम पटक होमोडायोलाइसिस सेवा संचालनमा आएको हो । होमोडायोलाइसिस सेवा २०७९ असार १६ बाट संचालनमा आएको थियो ।
इलाम अस्पतालको प्रगतिशील यात्रा र होमियोडायलाइसिस सेवा
जिल्ला अस्पताल इलाम बिक्रम सम्बत २०२९/३० सालमा नेपाल सरकारको मातहतमा रहने गरी १५ शैँयाको अस्पतालको रूपमा संचालन गर्ने स्वीकृति पाएको थियो । २०४४ सालदेखि सेवालाई सुदृढ र व्यवस्थित गर्न अस्पताल विकास तथा सहयोग समिति गठन गरिएकोमा बि.सं. २०६१ आषाढ ७ गते अस्पतालको संचालनको लागि अस्पताल विकास समिति गठन गर्ने निर्णय तत्कालिन सरकारबाट भएको थियो ।
बिरामीको चापलाई ध्यान राखी बिक्रम सम्बत २०६१ साल भाद्र २८ गते नेपाल सरकार सचिव स्तरको निर्णयबाट २५ शैयाको अस्पतालमा स्तरउन्नती गरिएको थियो । बिरामीको चापलाई ध्यानमा राख्दै जनताको स्वास्थ्य सेवापाउने अधिकारलाई सुनिश्चित गर्न बिक्रम सम्बत २०७२ साउन १ गतेको मन्त्रिपरिषदको निर्णयबाट बिशेषज्ञ चिकित्सकहरुको दरबन्दी सहित ५० शैयामा अस्पतालमा स्तर उन्नती भएको थियो ।
अस्पताललाई चुनावी एजेण्डा बनाउने
जिल्ला अस्पताल इलामको सेवालाई गुणस्तरीय बनाउने र दरबन्दी अनुसारको जनशक्ति ल्याउने भनेर जिल्लाका राजनैतिक दल र नेताले हरेक चुनावमा मुख्य चुनावी एजेण्डा बनाउने गरेका छन् । तर चुनाव पटक पटक भयो, चुनाव जितेर प्रधानमन्त्री, सभामुखसम्म इलामले पायो, नेताको जीवनशैली र रहनसहन फेरीयो तर जिल्ला अस्पतालको अवस्था कहिले फेरीएन । पहिला जस्तो अहिले पनि त्यस्तै । नत दरबन्दी अनुसारको जनशक्ति नै छ, नत आवश्यक मात्रामा उपकरण नै छ । भएका उपकरण समेत दक्ष जनशक्तिको अभावमा थन्किएको छ छने भएको जनशक्तिले प्रयोग गर्ने उपकरण नै छैन । जसको प्रत्यक्ष मारमा इलामे जनता परेका छन् । सामान्य उपचारमा पनि यहाँका नागरीक महङगो खर्चेर जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता छ । इलामे नागरीकको बर्षौदेखीको एक मात्र माग हो सुबिधा सम्पन्न अस्पताल तर त्यो अहिले सम्म कता अल्मलिएको छ भन्ने इलामे नागरीकले पत्तो पाउन सकेका छैनन् ।



















































