माङसेबुङ गाउँपालिकाद्वारा लघु तथा साना उद्योग प्रवर्द्धनका लागि नयाँ नीति सार्वजनिक

  नयाँ बुलन्द
42 Shares

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धनलाई प्राथमिकता दिँदै महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मङ्गलबार सार्वजनिक नीति तथा कार्यक्रममा गाउँपालिकाले आवश्यकता पहिचानका आधारमा पुनर्ताजगी तथा एडभान्स सिप विकास तालिम संचालन गरी स्थानीय स्रोत, साधन र कच्चा पदार्थमा आधारित उद्योग सञ्चालन गर्न प्रोत्साहन गर्ने नीति ल्याएको छ । यसअन्तर्गत, खाँडी, अल्लो, गाँजा, ढाका लगायत परम्परागत उत्पादनका लागि प्रविधि हस्तान्तरण गर्दै लक्षित वर्गलाई बजार प्रतिस्पर्धी र उत्पादक बनाउन पहल गरिनेछ ।

साथै, गाउँपालिकाले नयाँ उद्यमी सिर्जना गर्न सामाजिक परिचालन, उद्यमशीलता तथा सिप विकास तालिम सञ्चालन गरी पुराना उद्यमीको स्तरवृद्धि, वित्तीय पहुँच तथा प्रविधि हस्तान्तरणलाई अघि बढाउने जनाएको छ । स्थानीय कच्चा पदार्थबाट सञ्चालन गर्न सकिने उद्योगलाई प्रोत्साहित गर्दै मिनरल वाटर उद्योग सञ्चालनका लागि सहकारी तथा निजी फर्मसँग मिलेर सम्भाव्यता अध्ययन गरिने नीति ल्याइएको छ ।

यस्तै, बाँस उत्पादन क्षेत्रलाई प्रोत्साहन गर्दै बाँसबाट उत्पादित परिकारहरूको उत्पादन, प्रशोधन तथा बजारीकरण गर्न सहकारी र समूहहरूसँगको सहकार्यमा योजना अघि सारिएको छ । साथै, हलुका तथा हेभी सवारीसाधन, सौर्य ऊर्जा, सुधारिएको चुल्हो, लघु जलविद्युत, बायोमास लगायत नवीकरणीय ऊर्जा प्रणालीको लागत अनुमान तथा कार्यसम्पन्न निरीक्षणका लागि परामर्शदाता नियुक्त गर्ने योजना पनि ल्याइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार, यी नीति तथा कार्यक्रमले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन, स्वदेशमै रोजगारीका अवसर सृजना गर्न र आत्मनिर्भरता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार