इलाम : डा देवी क्षेत्री दुलालको उपन्यास ‘कर्णेल गजराज सिंहथापा’ विमोचिन भएको छ । प्रमुख अतिथि प्राज्ञ डा कौशिला रिसाल, प्रा डा गोविन्दराज भट्टराई, पूर्व मन्त्री सोमनाथ बास्तोला, पूर्व सांसद अगम बान्तवा र उपप्राध्यापक युद्धप्रसाद वैद्यले संयुक्त रूपमा उक्त उपन्यासको विमोचन गरेका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा कौशिला रिसालको प्रमुख आतिथ्यमा बुद्धिप्रसाद घिमिरे स्मृति प्रतिष्ठानको आयोजनामा डा देवी क्षेत्री दुलालद्वारा रचित ऐतिहासिक उपन्यास ‘कर्णेल गजराज सिंहथापा’ विमोचन भएको थियो।
उक्त विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रिसालले ‘कर्णेल गजराजसिंह थापा’ जस्तो ऐतिहासिक र जीवनीपरक उपन्यास सिर्जना गरेकामा उपन्यासकार दुलाललाई बधाई ज्ञापन गर्दै नयाँ पुस्ताले अग्रज पुस्ताका महत्त्वपूर्ण योगदानबाट अभिप्रेरणा लिँदै लक्ष्यभेदनमा पुग्नुपर्ने बताए । उनले इलाममा चियाखेतीको प्रारम्भ गरेका ‘चिफ कर्णेल गजराजसिंह थापा’को व्यक्तित्वको चित्रण उक्त उपन्यासले गरेको छ। जसले चिया उद्योग सञ्चालन र प्रबर्द्धन गरी सामाजिक र आर्थिक क्षेत्रमा पुर्याएको ऐतिहासिक योगदानलाई नयाँ पुस्तासम्म पुर्याउनका लागि उक्त उपन्यास गतिलो दस्ताबेज बनेको बताए ।

प्रमुख अतिथि रिसालले आफू प्रज्ञा(प्रतिष्ठानको सामाजिशास्त्र विभागको नेतृत्वमा रहेकाले सामाजिकशास्त्रसम्बन्धी यस्ता खोज तथा अनुसन्धानमूलक सामग्रीहरूको प्रबर्धन गर्दै स्रष्टालाई निरन्तर प्रोत्साहित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् प्रमुख वक्ता प्रा डा गोविन्दराज भट्टराईले पुस्तकमा थापाको ऐतिहासिक योगदानलाई अभिलेखीकरण गरिएको र नेपालको पहिलो उद्योग इलामको चिया कारखाना भएको तथ्य समेत उजागर गरे । यस्तै युद्धप्रसाद वैद्यले पनि पुस्तक र इलामको इतिहासबारे आफ्नो भनाइ राखेका थिए ।
उपन्यास सर्जक डा देवी क्षेत्री दुलालले आफूले यो पुस्तक निकै लामो समयको खोज अनुसन्धान गरेर मात्रै तयार पारेको बताए । उक्त विमोचन कार्यक्रम इलाम नगरपालिकास्थित अरनिको सङ्ग्रहालय लालदरबारको हलमा गरिएको थियो।

विस १९२० मा कर्णेल थापाले नै इलाममा चिया खेतीको सुरुवात गरेका थिए । कर्णेल गजराज सिंहथापाले इलामको चियाखेतीको सुरुवात र बिस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको चर्चा हुँदै आएको छ । बिस १९३५ मा इलाममा चियाउद्योग स्थापना गरी थापाले पूर्वी क्षेत्रलाई कृषिमार्फत आर्थिक क्रान्तिमा जोडेको विषय उपन्यासमा उल्लेख गरिएको छ।



















































