
नयाँ बुलन्द
इलाम : इलामबाट वैदेशिक रोजगारमा जानेको संख्या वर्षेनी घट्न थालेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा वैदेशिक रोजगारमा जानेको संख्या दुई हजार पाँच सयले घटेको हो ।
जिल्ला प्रशासन कार्यालय इलामका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा वैदेशिक रोजगारीमा जानका लागि पाँच हजार ७४ जनाले मात्र राहदानी बनाएका छन् । जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा विनोदबाबु विसीका अनुसार सो आवमा तीन हजार नौ सय ६१ पुरुष र एक हजार एक सय १३ जना महिला गरी पाँच हजार ९४ जनाले जिल्लाबाट राहदानी बुझेका छन् । राहदानीबाट दुई करोड ६३ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै एक हजार तीन सय ६० जनालाई द्रुत सेवा अन्तर्गत राहदानीका लागि काठमाडौं सिफारिस गरिएको विसीले जानकारी दिए ।
अघिल्लो वर्ष अर्थात आर्थिक वर्ष २०७२/०७३ मा इलामबाट सात हजार पाँच सय ७२ जनाले वैदेशिक रोजगारमा जानका लागि जिल्लाबाट राहदानी बनाएका थिए । एक हजार नौ सय ६५ जनाले काठमाडौबाट बुझ्नेगरी सिफारिस लिएका थिए । त्यस वर्ष तीन करोड ९४ लाख राजस्व संकलन भएको थियो । पछिल्लो वर्ष वैदेशिक रोजगारीमा जानलाई राहदानी बनाउनेको संख्या घट्नु स्थानीय तहको निर्वाचन मुख्य कारण भएका विसी बताउँछन् ।
प्रशासनले जिल्लाबाटै नयाँ राहदानी लिनेलाइ पाँच हजार र हराएकालाई १० हजार राजस्व लिदै आएको छ । जिल्लाबाट पेस गरेको राहदानी कम्तीमा ३० दिनमा केन्द्रबाट आइपुग्ने राहदानी शाखाले जनाएको छ । त्यस्तै द्रुत सेवा लिनेले सिधै सिफारीस लिएर १० हजार रुपैयाँमा मन्त्रालयबाट एक सातामा राहदानी लिने गरेका छन् । अति आवश्यक भए १५ हजार शुल्क तिरेर मन्त्रालयबाट दुई दिनमै लिन सकिने व्यवस्था रहेको कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले राजस्वको ठूलो हिस्सा राहदानीबाट उठाउने गरे पनि अन्य क्षेत्रबाट पनि राजस्व सङ्लन गर्दै आएको छ । संघसंस्था नवीकरण, हातहतियार, न्यायिक, प्रशासनिक दस्तुर, बेरुजु र सरकारी सम्पत्ति बिक्रीबाट समेत राजस्व उठ्ने गरेको कार्यालयले जनाएको छ ।



















































