
इलाम : १३ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड जिल्लास्तरीय खेलकुद प्रतियोगिता २०७९ आज (मंगलबार) देखि इलामको फाकफोकथुम गाउँपालिकामा सुरु भएको छ ।
फाकफोकथुम गाउँपालिका ३ आमचोकस्थित सिंहदेवी माध्यमिक विद्यालयको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले दीप प्रज्वलन गरे गरेका छन् ।
सधैं इलाम सदरमुकाममा संचालन हुँदै आएको प्रतियोगिता प्रदेश सरकार खेलकुद विकास बोर्ड अन्तरगत जिल्ला खेलकुद विकास समितिले पहिलो पटक सदरमुकाम बाहिर संचालन गरेको हो ।
यसअघि राष्ट्रिय खेलकुद परिषद अन्तरग ११ औं संस्करणको प्रतियोगिता भने सूर्योदय नगरपालिकाको करफोक माध्यमिक विद्यालयको खेलमैदानमा संचालन भएको थियो ।
प्रतियोगितामा छात्र र छात्रातर्फ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका बमोजिम चारवटा र जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा एक गरी पाँच वटा विधाको खेल संचालन हुनेछन् ।

राष्ट्रपति रनिङ शिल्ड संचालन निर्देशिका बमोजिम प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, मार्सल आर्ट संचालन हुनेछन् । एथलेटिक्स अन्तरगत दौड (ट्रयाक) तर्फ र उफ्रने र फ्याँक्ने (फिल्ड) तर्फ एवम् मार्सल आर्ट अन्तरगत कराँते (सितेरिया), तेक्वान्दो र उसु संचालन हुनेछन् । जिल्ला खेलकुद विकास समितिको आफ्नै व्यवस्थापनमा रग्वी खेल संचालन हुनेछ ।
प्रतियोगिताका लागि १० वटै स्थानीय तहले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन गरी छनौट भएका खेलाडीहरु सहभागी भएका छन् । प्रतियोगितामा खेलाडी र व्यवस्थापन टिमका कररिब एक हजार जनाको उपस्थिती भएको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बाँस्तोलाले जानकारी दिए ।
प्रतियोगितामा सम्पूर्ण खेलको नतिजालाई एकीकृत गरी पालिकालाई विजेता तथा उपविजेता घोषणा गरिनेछ । प्रतियोगिताका विजेता तथा उपविजेता टिम र खेलाडीले पदक, नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको व्यवस्थापनको काम फाकफोकथुम गाउँपालिकाले गरेको छ । खेलाडी र व्यवस्थापक टिमलाई गाउँपालिकाले स्थानीय बस्तीहरुमा होमस्टेको अवधारणाअनुसार राख्नेछ । त्यसका लागि एक सय घरलाई होमस्टेको रुपमा तयारी गरेको छ ।
प्रतियोगिता उद्घाटन कार्यक्रमको अवसरमा लिम्बू जातिको मौलिक नाच च्याब्रुङ (केलाङ) एवम् पञ्चेबाजासहितको टोलिले अतिथीहरुलाई स्वागत गरेका थिए । अहिले उद्घाटन कार्यक्रमको अवसरमा मार्चपास र झाँकी प्रदर्शन भइरहेको छ ।
कार्यक्रममा फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई, चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलसहित सुरक्षा निकायका प्रमुखहरुलगायतको उपस्थिती छ ।
फाकफोकथुम गाउँपालिका उपाध्यक्ष कल्पना राईले स्वागत गरेको कार्यक्रमको संचालन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख नारायण भट्टराईले गरेका छन् ।


























































