
इलाम : इलामको माङसेबुङ गाउँपालिका १ स्थित प्रसिद्ध धार्मिक स्थल गजुरमुखी धाममा पूर्णिमा मेला सकिएको छ । परापूर्व कालदेखि कात्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला धुमधामका साथ तीन दिनसम्म लागेको थियो ।
मेलामा तिन दिनसम्म नै बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको घुईचो लागेको थियो ।
धाम आसपासमा पाल टागेर पाँचसय बढी अस्थायी टहराहरु निर्माण गरी होटल तथा अन्य व्यवसायहरु संचालन गरिएको थियो ।
गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल बुझाउन र पूजापाठ गर्न आउनेहरुको संख्या धेरै रहेको थियो ।
धाममा माङसेबुङ गाउँपालिकाको इभाङ र गजुरमुखी, देउमाई नगरपालिकाको धुसेनी र जितपुर, माई नगरपालिकाको महमाई र फाकफोकथुम गाउँपालिकाको लुम्दे, एकतप्पा, फुएतप्पा लगायतको बाटो हुदै पैदल र सवारी साधनमार्फत मेला भर्न आएका थिए ।
गजरमुखी धाममा दर्शन गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेकाले यहाँ देवीको दर्शन र पूजा अर्चना गर्न अहिले संयौको संख्यामा भक्तजनहरु आउने गरेका छन् ।
मेला भर्न, दर्शन तथा पूजापाठ गर्न इलामसँगै पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटाका तथा भारतको सिक्किम, दार्जिलिङ, खर्साङ, कालेङबुङ लगायतका ठाउँहरुबाट समेत भक्तजनहरु आएका थिए ।
इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा अवस्थित गजरमुखीको दर्शन गरेमा बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ ।
भिडियोमा हेर्नुहोस् :















































