
इलाम : गत पुसमा इलाममा संचालित प्रथम मेची क्षेत्र पर्यटन महोत्सवको आयव्यय सार्वजनिक भएको छ ।
विहीबार इलाम सदरमुकाममा पत्रकार भेटघाट गरी आयोजक इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिले आयव्यय सार्वजनिक गरेको हो ।
गत ५ देखि १६ पुससम्म संचालित महोत्सवको ५ महिनापछि आयोजकले आयव्यय सार्वजनिक गरेको हो । प्रस्तुत आयव्यय अनुसार महोत्वमा विभिन्न १६ लाख ७१ हजार ४ सय ५० आम्दानी र १३ लाख १४ हजार ९७ रुपैयाँ खर्च देखाइएको छ ।
इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिका अध्यक्ष विजय राईको अध्यक्षतामा भएकव कार्यक्रममा महासिचव देवी पौड्याले संचालन गरेका थिए । कार्यक्रममा संचारकर्मीहरुको विभिन्न जिज्ञासामाथि अध्यक्ष राई, महासचिव पौड्याल, कोषाध्यक्ष भट्टराईलगायत कार्यसमिति सदस्यले प्रष्ट पारेका थिए । उनीहरुले विभिन्न दाताहरुबाट भुक्तानी ढिला भएकाले आयव्यय सार्वजनिकमा ढिलाइ भएको बताएका थिए ।
इलाममा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि महोत्सव सफल भएको आयोजकको निष्कर्श थियो । ‘पछिल्लो समय इलाम सुनसान बन्दै गएको अवस्थामा बाहिरबाट पर्यटक भित्र्याउन यो महोत्सव सफल भएको छ’ इलाम पर्यटन प्रवर्द्धन सरोकार समिति अध्यक्ष विजय राईले भने, ‘हामीले यहाँबाट कुनै न कुनै नाममा वर्सेनी महोत्सव आयोजना गर्नुपर्ने रहेछ भन्ने सिकाइ भएको छ ।’
आगामी दिनमा सरोकारवालाबाट आएका विभिन्न सुझावहरुलाई अनुसरण गर्दै अगाडि बढ्ने आयोजक इलाम पर्यटन प्रवर्द्धन सरोकार समितिले प्रतिवद्धता समेत जनाएको छ ।
साविक मेचीका चार जिल्ला इलाम, झापा, पाँचथर र ताप्लेजुङका समग्र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ५ देखि १६ पुससम्म इलाममा प्रथम ‘मेची क्षेत्र पर्यटन महोत्सव २०७५’ आयोजना गरिएको थियो । इलाममा हालसम्म आयोजना भएको मध्ये सबैभन्दा ठूलो मेची क्षेत्र पर्यटन महोत्सवमा झापा, इलाम, पाँचथर र ताप्लेजुङका पर्यटन व्यवसायी र उद्योगीहरुको सहभागिता रहेको थियो ।
महोत्सवमा चार जिल्लाका व्यवसायीयले आआफ्नो जिल्लामा उत्पादित सामग्रीको प्रदर्शन गरिएका थिए । विभिन्न स्टलहरुमा चार जिल्लामा उत्पादित कृषिजन्य, औद्योगिक तथा व्यवसायिक सामग्रीहरु प्रदशर्नीमा राखिएका थिए । यसका साथै चार जिल्लामा बसोबास गर्ने विभिन्न जातजातिको लोप हुन लागेको कला संस्कृति, जातीय खानाको परिकारहरु, दुर्लभ जीवजन्तु चौंरीगाई र पर्यटकीय क्षेत्रको प्रचारप्रसार सामग्री प्रदर्शनीमा राखिएका थिए ।
महोत्सवमा २६ जना राष्ट्रिष कलाकार र ४ सय २८ स्थानीय कलाकारहरुको साँगितीक प्रस्तुती समेत गरिएको थियो । यो एउटै स्टेजमा सबैभन्दा धेरी कलाकारको प्रस्तुती गराएको यो पहिलो रहेको आयोजकको दावी छ ।
सो महोत्सव चारै जिल्लामा पालैपालो आयोजना हुने महासचिव देवी पौड्यालले जानकारी दिए । २०७६ मा ताप्लेजुङमा हुने निश्चित भइसकेको उनले जानकारी दिए । २०७७ र ०७८ मा पाँचथर र झापाले पालैपालो आयोजना गरेपछि पुन ०७९ मा इलाममा सो महोत्सव आयोजना हुनेछ । यसरी चारै जिल्लामा पालैपालो सो महोत्सव आयोजा हुनेछ ।



















































