इलामको अनाथालयलाई कम्प्युटर हस्तान्तरण

 

इलाम :गुराँस लाइफ इन्स्युरेशन शाखा कार्यालय इलामले बिहीबार इलाम नगरपालिका वडा नं. ९ मा रहेको राहशल बाल अनाथालयलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

शाखाले कम्पनीको १०औँ वार्षिक उत्सवको अवसरमा कम्प्युटर हस्तान्तरण गरेको हो । अनाथालयकै परिसरमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल, इलाम उद्योग वाणिज्य संघ, इलामका अध्यक्ष आनन्द कट्टेल लगायतले कम्प्युटर अनाथालयका संस्थापक अध्यक्ष राजेन्द्र चौहानलाई हस्तान्तरण गरे । सोही कार्यक्रममा सन्दकपुर गाउँपालिका ४ का बिमित मृतक गणेशकुमार राईका परिवारलाई समेत मृत्यु दाबी रकम हस्तान्तरण गरिएको थियो । पाँच लाखको बिमा गरि ३८ हजार जम्मा गरेका राईका परिवारलाई कम्पनीले नगद १० लाखको चेक प्रदान गरेको थियो ।

कार्यक्रममा समन्वय समिति इलाम प्रमुख बराल, वाणिज्य संघका अध्यक्ष कट्टेल, नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेशका उपाध्यक्ष सोम सुसेली, अनाथालयका अध्यक्ष चौहान, कोषाध्यक्ष रतन चौधरी, इलाम नगरपालिका वडा नम्बर पाँचका अध्यक्ष ठाकुर श्रेष्ठ लगायतले प्रविधिको विकाससँगै बालबालिकाहरुको क्षमता अभिबृद्धिमा सहयोग पु¥याउने हेतुले कम्प्युटर प्रदान गरेकोमा कम्पनीलाई धन्यवाद ब्यक्त गरेका थिए । कम्पनी इलामका प्रमुख अर्जुन पोख्रेलले आगामी दिनहरुमा समेत यस्ता सहयोग गर्दै जाने प्रतिवद्धता जनाएका थिए । उनले गुराँस लाईफ इन्स्युरेन्सले ल्याएका नयाँ तथा पुराना बिमा पोलिसीका बारेमा समेत चर्चा गरेका थिए ।

गुराँस लाईफको इलाम शाखा नेपालकै सबैभन्दा बीढ ब्यापार गर्ने शाखाका रुपमा पुरस्कृत समेत भइसकेको छ । यस वर्ष समेत हाल सम्ममा अन्य शाखाभन्दा अगाडी रहेकाले सहयोग गरेर जिल्लाको ईज्जत माथी राख्न उनले जिल्लाबासी समक्ष आग्रह गरेका छन् । सोही कम्पनीकी एजेन्सी मेनेजेर रिता राईले आफ्नो जन्म दिन समेत सोही कार्यक्रम बिच मनाएकी थिइन् । उनले राशहलमा रहेका बालबालिकाको उच्च शिक्षाको कामना सहित नगद पाँच हजार प्रदान गरेकी थिइन् । सोहि अवसरमा अनाथालयमा रहेका बालबालिकालाई कम्पनी तथा ब्यक्तीले फलफुल तथा मिठाई वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार