सुनसरी : एकवर्ष अघि घरपरिवारबाटै बालविवाह गराइएकी ममता मरिक यतिवेला इनरुवा अस्पतालको शैयामा छिन् । छोरी जन्माएको निहँुमा परिवारले समेत घर निकाला गरिदिएपछि आमासँगै काखे नबालकको बिचल्ली भएको छ ।
सुनसरीको इनरुवा अस्पतालको वेडमा गएको चार दिनयता उनी भर्ना छिन् । ममताको उमेर मात्रै १३ वर्षको छ । उनको बच्चा बच्चा समेत कुपोषित छ । बच्चालाई काखमा लिने अरु कोही हैन् । ममतालाई मातृत्व के हो त्यो त परको कुरा आफ्नो स्याहार कसरी गर्ने समेत ख्याल छैन् । स्तनपान गराउनै जान्दिनन् । बच्चा कसरी समात्ने र स्याहार सुसार गर्ने भन्नेमा उनि पूर्णतः अनभिज्ञ छिन् । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको भनाईमा आमाको उमेर परिपक्क नभएकाले बच्चालाई खुवाउने दुध समेत पर्याप्त छैन् । पौष्टिक आहार र उचित हेरचाहको अभावमा बच्चा कुपोषित छ । आमाको स्वास्थ्यमा समेत समस्या देखिएको डा. तुषार झा बताउँछन् । एक वर्ष अघि सिरहाको गोलबजार घर भएका प्रकाश मरिकसँग बिवाह गरेकी ममता छोरी जन्माएपछि पारिवारिक हिंसाको शिकार भएकी हुन ।
छोरी जन्माएको भन्दै श्रीमान र परिवारका सदस्यले ज्यान मार्ने धम्की दिएको बताउने पीडित बालिका आफुलाई खान लाउन नदिई घर परिवारले तिरस्कार गरेको बताउँछिन् । ममताले आफुलाई श्रीमान् सहित परिवारका सदस्य मिलेर घरबाट लखेटिएको बताइन् ।
घरपरिवारबाट अपहेलित र हिंसाको शिकार बनेकी ममता माइतीको शरणमा पुगेपनि दयनिय अवस्थाका बाबुआमासँग केही गर्ने सार्मथ्य छैन् । बाबु ढोगाई मरिक बनिबुतो गरी खाने परिवार भएकाले आमा र बच्चाको हेरचाह र खानपिन तथा उपचार गराउन सक्ने अवस्थानै नरहेको बताउँछन् । रगतको अभाव, मुटुको समस्या जस्तो अवस्थाबाट गुर्जिएकी आमालाई मात्र हैन् कुपोषित रहेको बच्चा दुवै बाँच्छन् बाँच्दैैनन् अन्यौलकाबिच उनिहरुलाई अस्पतालका स्वास्थ्यकर्मीहरुले भर्ना गरेको बताए । अस्पतालले आमा र बच्चा दुवैको स्वास्थ्यमा सामान्य सुधार देखिएको बताएपनि डिसचार्ज पश्चातको अवस्था यकिन गर्न भने नसकिने जनाएको छ ।
अस्पतालले भर्ना भएदेखिको अवस्थाबाटनै १३ वर्षिया आमा र उनको सानो नानीको उपचार निशुल्क गर्दै आएको जनाएको छ । बालबिवाहकै कारण संकटमा परेको ममता मरिकको जीवन उनको श्रीमान र परिवारका सदस्यले घर निकाला गरिदिएपछि थप समस्यामा परेको छ । आफु र आफ्नो सन्तानको भविष्य के होला भन्ने चिन्तामा डुबेकी १३ वर्षिया बालिका आमा ममताले आफुलाई श्रीमान र परिवारको साथ दिलाइदिन सरोकारवाला समक्ष आग्रह गरेकी छिन् ।

















































