तालाबन्दीका क्रममा प्रहरी र संयुक्त विद्यार्थी संगठनबीच झडप (भिडियो सहित)

राम योङहाङ

इलाम : विभिन्न शैक्षिक मागसहित आन्दोलनमा उत्रिएको इलामका संयुक्त विद्यार्थी संगठनले शिक्षा विकास तथा समन्वय इकाई इलामको कार्यालयमा तालाबन्दी गरेका छन् ।

अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम र नयाँ शक्ति विद्यार्थी युनियन सम्मिलित संयुक्त विद्यार्थी संगठनले विहीबार प्रहरीको घेरा तोडेर तालाबन्दी गरेका हुन् ।

संयुक्त विद्यार्थी संगठनले विभिन्न ११ बुँदे शैक्षिक मागसहितको ज्ञापनपत्र पेश गर्दै जिल्ला शिक्षा अधिकारीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । शैक्षिक क्षेत्रमा मौलाएको शुल्कवृद्धि, कालोबजारी, अनियमितता अन्त्यको माग गर्दै अनिश्चितकालका लागि तालाबन्दी गरेको हुन् ।

नीजि विद्यायले गरेको शुल्क वृद्धि फिर्ता हुनुपर्ने, दोहोरो भर्ना शुल्क, विद्यार्थी पोषाक, पाठ्य पुस्तक विद्यालय हाताभित्र विक्रीवितरणमा रोक हुनुपर्ने, सरकारले तोकेको छात्रवृत्ति पारदर्शी रुपमा वितरण गरिनुपर्ने, भर्ना र मासिक शुल्क लिएका सामुदायिक विद्यालयलाई कारवाही गरिनुपर्ने, विद्यार्थीको शिकाई उपलब्धिको आधारमा शिक्षकको मुल्यांकन गरी पुरस्कृत र दण्डको व्यवस्था गरिनुपर्ने, शैक्षिक सरोकारका विषयमा महत्वपूर्ण शैक्षिक निर्णय गर्दा विद्यार्थी संगठनलाई अनिवार्य सहभागिता गराईनुपर्ने लगायतको माग गर्दै तालाबन्दी गरका हुन् ।

तालाबन्दीपछि कार्यालयमा संयुक्त विज्ञप्ति टाँस आफ्ना माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने जनाएका छन् । केन्द्रीय कार्यक्रम अनुसार तालाबन्दी गरिएको बताउँदै संयुक्त विद्यार्थी संगठनले शुक्रबार इलाम नगरपालिका र सुर्योदय नगरपालिकामा सिटी जुलस गर्ने कार्यक्रम रहेको जनाएको छ ।

निमित्त जिल्ला शिक्षा अधिकारी डम्बर सुवेदीले विद्यार्थीहरुको मागको सम्बन्धमा सम्बन्धित निकायमा पहल गर्ने प्रतिक्रिया दिए । ‘विद्यार्थीहरुको शान्तिपूर्ण आन्दोलन सामान्य हो । हामी उहाँहरुको मागप्रति सकरात्मक छौं’ सुवेदीले भने, ‘यहाँबाट समाधान हुनसक्ने माग नगर शिक्षा समितिसँग छलफल गरेर समाधान गर्नेछौं । यहाँबाट समाधान नहुने शिक्षा विभाग र शिक्षा मन्त्रालयमा पठाउँछौं ।’

तालाबन्दीका क्रममा प्रहरी र विद्यार्थी संगठनबीच सामान्य झडप समेत भएको थियो । प्रहरीले संयुक्त विद्यार्थी संगठनलाई शिक्षा कार्यालय प्रवेशमा रोक लगाएपछि झडप भएको थियो । प्रहरीले विद्यार्थीलाई कार्यालय परिसरमै रोकेपछि विद्यार्थीले शिक्षा र प्रहरी विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

प्रहरी दमन भएको भन्दै चर्को नाराबाजी गर्दै विद्यार्थीहरुले प्रहरीको घेराबन्दी तोडेर शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा प्रवेश गरेको थियो । प्रहरीले भने संयमता अपनाएको देखिन्थ्यो ।

विद्यार्थीहरुले आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएको भन्दै विरोध जनाएको छ । अनेरास्ववियु इलामका अध्यक्ष इश्वरी तामाङले सार्वजनिक सरोकारको विषयमा विद्यार्थीहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन हुनुले लोकतन्त्रको धज्जी उडाएको प्रतिक्रिया दिए । उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेपको अन्त्य नभए आन्दोलनले अर्कै स्वरुप लिने चेतावनी समेत दिए ।

यसअघि संयुक्त विद्यार्थी संगठनले नीजि तथा आवसीय विद्यालय अर्गनाईजेशन (प्याब्सन) को कार्यालयमा तालाबन्दी गरेको थियो ।

हेर्नुहोस् भिडियो : 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार