
इलाम : ‘झ्याप्प बत्ती जान्छ, आउँछ । फेरि जान्छ, फेरि आउँछ ।’ इलाम नगरपालिका–७ का होटल व्यवसायी देबी पौडेलकको दिनचर्या हिजोआज विद्युत्को यही ‘लुकामारी’ हेरेर बित्छ । नेपाल विद्युत् प्राधिकरणले देशलाई लोडसेडिङमुक्त घोषणा गरेको वर्षौँ भइसक्यो, तर पहाडी जिल्ला इलामका नागरिकले भने अझै पनि अघोशित लोडसेडिङको मार खेपिरहनुपरेको छ ।
बिना कुनै पूर्वसूचना दिनमा दर्जनौ पटकसम्म विद्युत् अवरुद्ध हुने समस्याले इलामको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा गम्भीर धक्का पुर्याएको छ । इलामको मेरुदण्ड मानिने पर्यटन हो र अहिले इलाममा पर्यटकीय सिजन सुरु भइसकेकोे छ । झुल्केघाम हेर्न अन्तु पुग्ने पर्यटकदेखि कन्याम, इलाम सदरमुकाम र सन्दकपुर घुम्न आउने पाहुनाहरूलाई सेवा दिइरहेका होटल व्यवसायीहरू बत्ती जाने–आउने समस्याले वाक्क बनेका छन् ।
“पर्यटकहरू होटलमा बस्न आउँछन्, तर बत्ती नहुँदा मोबाइल चार्ज गर्न र तातोपानीको समेत समस्या हुन्छ,” होटल व्यवसायी संघ इलामका अध्यक्ष देबी पौडेललेले भने, “जेनेरेटर चलाउँदा खर्च धान्नै सकिँदैन, नचलाउँदा पाहुनाहरू रिसाउँनुहुन्छ । यो बिधुत पटकपटक आउने जाने गरेकाले होटलका फिज र अन्य इलेक्टीक सामान बिग्रिएका छन् भने फ्रिजमा राखिएका सामान समेत बिधुत आपुर्ती असहज हुदा नस्ट भएर दैनिक घाटा ब्यहोर्नुपरिरहेको छ ।” यस्तै, चिया प्रशोधनको मुख्य सिजन नजिकिँदै गर्दा पटक–पटक बत्ती काटिँदा मेसिनरी सामान बिग्रने र उत्पादनमा ह्रास आउने चिन्ता चिया उद्योगीहरूमा छाएको छ ।
यस्तै यता वार्षिक परीक्षा र एसईईको मुखमा रहेका विद्यार्थीहरूका लागि यो समस्या झनै पीडादायी बनेको छ । साँझको समयमा बत्ती जाँदा उनीहरू मैनबत्ती र टुकीको भरमा पढ्न बाध्य छन् । अनलाइन ट्युसन र इन्टरनेटको माध्यमबाट तयारी गरिरहेका विद्यार्थीहरू बीचैमा लाइन काटिँदा मानसिक तनावमा पर्ने गरेका छन् ।
उता नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रेवत कुमार चौधरीले भने यो समस्यालाई ‘प्राविधिक’ मात्र भएको बताए । प्राधिकरणका प्रमुख चौधरीका अनुसार पुराना पूर्वाधारका कारण यो समस्या आएको बताउदै जिल्लाका धेरै ठाउँमा अझै पनि काठका पुराना पोलहरू छन् जुन सामान्य हावाहुरी चल्दा पनि ढल्ने वा सर्ट हुने गर्छन । यस्तै अर्को तर्फ रूखका हाँगाहरूले तार छुने र ‘फल्ट’ पत्ता लगाउन समय लाग्ने समस्या रहेको उनले बताए । यस्तै जिल्लामा माग अनुसारको भोल्टेज आपूर्ति नहुँदा साना ट्रान्सफर्मरहरूले लोड धान्न नसक्ने समस्या पनि यथावत रहेको पाइन्छ ।
तर, स्थानीय उपभोक्ताहरू भने प्राधिकरणको यो तर्क मान्न तयार छैनन् । “मर्मत गर्नुपर्ने भए तालिका किन सार्वजनिक गरिँदैन? बत्ती काट्नुअघि एउटा सूचना दिन किन पछि हटिन्छ ?” इलाम नागरिक समाजका प्रतिनिधि महेन्द्र चौहानले भने । विद्युत्को अनियन्त्रित प्रवाहले गर्दा सर्वसाधारणका फ्रिज, टेलिभिजन र कम्प्युटरहरू जल्ने क्रम बढेको छ भने इभि चार्जिङ्ग स्टेशनमा समेत ठूलो असर परिरहेको छ । गरिब जनताले ऋण गरेर किनेका सामानहरू प्राधिकरणको लापरबाहीले बिग्रँदा कस्ले जिम्मेवारी लिने भन्ने आम नागरीकले प्रश्न खडा समेत गरेका छन् ।
इलामलाई उज्यालो बनाउने जलविद्युत् आयोजनाहरू इलामकै खोलानालाबाट सञ्चालित छन्, तर ‘बत्ती मुनिको अँध्यारो’ झैँ इलामेली जनताले नै सास्ती भोग्नु विडम्बनापूर्ण छ । यदि प्राधिकरणले तत्काल वितरण प्रणाली सुधार नगर्ने र पूर्वसूचना बिना बत्ती काट्ने क्रम नरोक्ने हो भने, इलामका उद्योगी र नागरिकहरू सडकमा उत्रने निश्चित झै देखिन्छ ।



















































