
इलाम : फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले इलाम-२ बाट कोही उम्मेद्वारको नाम सिफारिस गर्न सकेन । मङ्गलबार उम्मेद्वारको नाम सिफारिस गर्न डाकिएको बैठकबाट सहमति नभएपछि कसैको नाम सिफारिस गर्न नसकिएको कांग्रेस क्षेत्रीय समितिले जनाएको छ ।
धेरै जनाको नाम प्रस्तावमा आएपछि सहमति गर्न मङ्गलबार रात परेकाले बुधबार विहानै सिफारिस गरिने क्षेत्रीय सचिव सुवास घिमिरेले बताए । बुधबार विहान प्रस्तावित उम्मेद्वारको अन्तिम टुङ्गो लगाएर जिल्ला समितिमा सिफारिस गरी पठाइने उनले बताए ।
प्रत्यक्षतर्फ इलाम-२ बाट नेताहरू भेषराज आचार्य‚ केशव थापा‚ नगेन्द्र कुमाल‚ रमेश लिङदेन र ईश्वर चिपालुको नाम प्रस्तावित छ । यस्तै समानुपातिकतर्फ प्रेमिका राना मगरको नाम प्रस्तावित छ ।
उता इलाम-१ का लागि ९ जनाको नाम सिफारिस गरेको छ । मङ्गलबार बसेको क्षेत्रीय कार्यसमितिको क्षेत्रीय संसदीय बोर्डको बैठकले पूर्वराज्यमन्त्रीद्वय बेनुपराज प्रसाईं र केशव थापा, संविधानसभा सदस्य टीकाराम लाप्चा, जिल्ला सभापति डम्बरबहादुर खड्का, महासमिति सदस्य भेषराज आचार्य, नेताहरू नगेन्द्र बुढाथोकी‚ प्रदेशसभा क्षेत्रीय सभापति निष्कल राई‚ भूपेन्द्र कट्टेल र हरिप्रसाद लुइँटेललाई सिफारिस गरेको छ ।
यस्तै, महिला समानुपातिकतर्फ अनिता श्रेष्ठ र कुसुम दाहालको नाम सिफारिस गरेको छ । पुरूष समानुपातिकतर्फ चक्र एक्तेन (अभिषेक) र भीष्म प्रधानको नाम सिफारिस गरिएको प्रदेशसभा १ (ख) का सभापति निश्कल राईले जानकारी दिए । नेपाली वर्णानुक्रम अनुसार सबैलाई समान प्राथमिकतामा सिफारिस गरी पठाइएको उनले बताए ।




























































