
इलाम : शरद र हेमन्त ऋतुको आगमन संगै आम मानिसमा नयाँ ठाँउ घुम्ने रहर मनमा पैदा हुन्छ । नयाँ ठाँउ नयाँ परिवेशको अनुभुत गर्ने हुटहुटी मनमा ओइरीने गर्छ । तिनै पर्यटकहरुको रुचिमा पर्ने स्थान सुदुरपूर्व इलाम पनि एक हो, जसले आन्तरिक र बाह्य पर्यटकहरुको मन जितेको छ तर अहिले भने सदरमुकाम इलाम बजारसहित इलामका पर्यटकीय गन्तव्यहरु अहिले सुनसान छन् । जेन्जी आन्दोलन र गत असोज १८ को वर्षातका कारण बिपदमा गुज्रिएको इलाम पर्यटकहरुले भरिभराउ हुने मुख्य सिजनमा पर्यटकीयस्थल सुनसान भएका हुन् ।
नेपाली चियाको इतिहास बोकेको इलाममा दैनिक सयौ बढी पर्यटकले भ्रमण गर्थे । भ्रमण गर्ने आन्तरिक पर्यटक बढी भएपनि बाहिरी पर्यटकको संख्या पनि उतिकै हुने गरेको थियो । तर अहिले इलाम सदरमुकाम सहित जिल्लाका पर्यटकीय स्थलमा पर्यटक फाट्टफुट्ट मात्र भेटिन्छन् ।
विश्व रामसार सुचिमा सुचिकृत माईपोखरी, सन्दकपुर, पानीटार, ढापपोखरी, अन्तु, पशुपतिनगर, कन्याम, सानी पाथीभरालगायतका स्थानमा समेत बिगत जस्तो पर्यटहरु छैनन् । इलामका प्रमुख प्रमुख पर्यटकीय गन्तब्यहरुमा नै पर्यटकहरु नभएपछि पर्यटन ब्यावसाय ने चल्न सकेको छैन । बिस्तारै लयमा फर्कदै गरेको पर्यटन ब्यावसायमा इलाममा यसपटक ठुलो क्षति पुगेको होटल ब्यवसायी संघ इलाम अध्यक्ष देवि पौडेलले बताए ।
पर्यटकहरुका लागि घुमघामका लागि यो मुख्य सिजन भएपनि जेन्जी आन्दोलन र असोज १८ को वर्षापछि पर्यटन क्षेत्र ठप्प भएको हो । इलाम आउने पर्यटहरुमा आन्तरिकसँगै भारतीय पर्यटकहरु बढी हुन्छन् । तर बिगतको तुलनामा निक्कै कम मात्र पर्यटक इलाम आएको पर्यटन सुचनाकेन्द्र जोरकलसको तथ्याकमा रहेको छ । पर्यटक सुचना केन्दका सूचना अधिकारी गगन घिमिरेकाअनुसार भारतिय पर्यटकको मुख्य रोजाइमा पर्ने इलाम यस बर्ष भारतिय पर्यटककै संख्यामा कमी आएको बताए ।
इलाम जिल्ला वास्तवमै मनै लोभ्याउने स्थानहरूले भरिएको छ । तर इलामको पहिचान चियाबारी मात्रै होइन र बादलभित्र क्षणभरमै लुकिरहने डाँडाहरू मात्र पनि होइन । यहाँको भौगोलिक बनोट, चिया, नगदे बालीले सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, दृश्यावलोकन, तालतलैया र सिमसार क्षेत्रलगायतले पनि आगन्तुकलाई आनन्दित तुल्याउने गर्छ ।
नेपालमै पहिलो इलामको चिया बगान, काठैकाठको संरचना भएको इलाम बजार, नारायणथान, माईथान, सिंहबाहिनी सेतीदेवीले पनि पर्यटक भुलाउन थालेको यस क्षेत्रमा सहरको व्यस्तताबाटै सुटुक्कै निस्केर ग्रामीण जीवनशैली र संस्कृति अनुभव गर्न सकिन्छ ।






















































