
मिक्लाजुङ (मोरङ) : स्थानीय संस्कृतिको संरक्षण र विद्यार्थीमा सांस्कृतिक पहिचानप्रतिको गर्व जगाउने उद्देश्यले मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थित मनोहर आधारभूत विद्यालयले एक अनौठो र सराहनीय पहल सुरु गरेको छ । सो विद्यालयले राई समुदायको मौलिक पोसाकलाई विद्यालयको आधिकारिक पोसाकका रूपमा सातामा दुई दिन अनिवार्य रूपमा लगाइने व्यवस्था सुरु गरेको छ ।
आइतबार र शुक्रबार विद्यार्थीहरू रंगीचंगी र आकर्षक राई पहिरनमा विद्यालय आउँदा विद्यालयको वातावरण नै सांस्कृतिक उत्सवजस्तै देखिन थालेको छ । राई समुदायको मौलिक पोसाकलाई विद्यालयको आधिकारिक पोसाकका रूपमा प्रयोगमा ल्याइएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीपक राईले बताए ।
‘स्थानीय पहिरनलाई विद्यालय पोसाकको रूपमा अपनाउनु हाम्रो संस्कृतिप्रतिको सम्मान हो,’ अध्यक्ष राइले भने, ‘यसले बच्चाहरूमा पहिचानको भावनासमेत बलियो बनाउँछ ।’
उधौंली पर्वको अवसरमा मङ्गलबार आयोजित विशेष कार्यक्रमले यो पहललाई अझै अर्थपूर्ण बनायो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईले ५० जना विद्यार्थीलाई राई पोसाक वितरण गर्दै संस्कृतिको संरक्षणमा विद्यालयको भूमिकालाई प्रशंसनीय बताए । यसका लागि अविभावक तथा शुभेच्छुकले गरेको एक लाख ३० हजार रुपैयाँ बराबरको सहयोगले समुदायको सहभागिता पनि स्पष्ट देखिन्छ ।
विद्यालयका प्रधानाध्यापक कुशलचन्द्र माझीले राई समुदायका विद्यार्थीको संख्या धेरै रहेको विद्यालयमा उनीहरूको पहिरनलाई विद्यालय पोसाकमा समावेश गर्नुले सांस्कृतिक संरक्षणका साथै आत्मगौरव जगाउने कार्यमा सहयोग पुर्याएको बताए ।
आगामी वर्षदेखि यो कार्यक्रमलाई निरन्तरता दिन गाउँपालिकाले बजेट व्यवस्थापन गर्ने अध्यक्ष राईको प्रतिवद्धताले पनि यो प्रयास दीर्घकालीन बन्ने संकेत गरेको छ । शिक्षा प्रमुख काशीनाथ खनालले स्थानीय पहिरनको प्रयोगले विद्यार्थीमा शिष्टाचार, संस्कार र आत्मअनुशासनको भावना विकासमा सहयोग पुर्याएको बताउँछन् ।
उधौंली पर्वकै दिन विद्यालय परिसर साकेला नृत्यको ताल र मौलिक खाना बाचिपाको स्वादले झनै सांस्कृतिक रौनकले भरिएको थियो । स्थानीय पहिरनलाई शैक्षिक वातावरणमा समावेश गर्ने मनोहर विद्यालयको प्रयास अब अन्य विद्यालयका लागि पनि उदाहरणीय बन्नेमा दुईमत छैन ।



















































