
पाँचथरः फालेलुङ गाउँपालिका–३ र ४ नम्बरको संगमस्थल थप्लि डाँडा–सिर्लिङगी टरमा तेस्रो फालेलुङ पर्यटन महोत्सव मंसिर १२ देखि आयोजना हुने भएको छ। तीनसिमाना जनसेवा समाज नेपाल, मेमेङको आयोजनामा हुने महोत्सवका १५ गतेसम्म संचालन हुने भएको छ । यसका लागि तयारी तीव्र रूपमा भइरहेको आयोजक समिति अध्यक्ष योगेन्द्र सावदेन (लेन्जो) ले जानकारी दिए। गाउँपालिकाको आर्थिक सहयोग र प्रवर्द्धनमा महोत्सव सञ्चालन गरिँदै छ। फालेलुङ गाउँपालिकामा पर्यटन प्रवर्द्धनका उद्देश्यले पछिल्ला वर्षहरूमा दुईवटा पर्यटन महोत्सव नियमित रूपमा हुँदै आएका छन्। गत वर्ष चैतमा सम्पन्न महोत्सव यसपटक मंसिरमै सारिएको आयोजकले जनाएको छ।
समुद्री सतहबाट करिब ३ हजार मिटर उचाइमा रहेको थप्लि डाँडाबाट सगरमाथा, कंचनजंघा, कुम्भकर्ण, मकालु लगायतका हिमशृङ्खलाका दृश्य अवलोकन गर्न सकिने भएकाले यस क्षेत्र महत्वपूर्ण पर्यटन गन्तव्यका रूपमा चिनिन्छ। सो क्षेत्रमा पाइने दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाप्रे) संरक्षणमा गाउँपालिकाले विशेष ध्यान दिँदै आएको छ।
यसपटकको महोत्सवमा वडा–स्तरीय महिला–पुरुष फुटबल प्रतियोगिता र खुला पुरुष म्याराथन मुख्य आकर्षण रहनेछन्। उचाइका कारण फुटबल प्रतियोगिता चुनौतीपूर्ण र रोमाञ्चक हुने अपेक्षा गरिएको छ। फुटबल प्रतियोगिता मंसिर १२ देखि सुरु भई फाइनल मंसिर १५ गते हुनेछ। खुला पुरुष म्याराथन मंसिर १५ गते बिहान ८ बजे फालेलुङ गाउँपालिका केन्द्र थकेपुगबाट सुरु भई फालोट बिओपी क्याम हुँदै महोत्सव स्थल थप्लि डाँडासम्म ३२ किलोमिटर दौडिनेछ। महोत्सवमा स्थानीय उत्पादनका स्टल, विभिन्न जातजातिका सांस्कृतिक झाँकी, तीनसिमाना क्षेत्रका प्राकृतिक सौन्दर्य अवलोकन, महिलाहरूको ‘हाड फोडाइ’ प्रतियोगिता तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछन्।
फुटबलतर्फ महिला र पुरुष दुवै समूहका विजेताले ५०–५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले २५–२५ हजार रुपैयाँ र ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन्। म्याराथनतर्फ प्रथमले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।सबै प्रतियोगितामा प्रवेश शुल्क निःशुल्क रहने आयोजक सदस्य रतन थाम्सुहाङले बताए।



















































