
इलाम : जिल्ला खेलकुद विकास समिति इलामको अध्यक्ष खगेन्द्र बाँस्तोलाको चार वर्षे कार्यकालमा खेलकुद प्रवर्द्धन, खेलाडी उत्पादन तथा खेल पर्यटन विस्तारमा इलामले उल्लेख्य उपलब्धि हासिल गरेको छ ।
२०७८ चैत २४ गतेदेखि २०८२ असोज २ गतेसम्मको कार्यकालमा खेलकुदको माध्यमबाट बालबालिका, युवा तथा सर्वसाधारणमा प्रतिस्पर्धा, अनुशासन र स्वास्थ्यप्रतिको सचेतना अभिवृद्धि गर्न समितिको भूमिका महत्वपूर्ण रह्यो ।
तत्कालनी जिल्ला खेलकुद विकास समिति अध्यक्ष खगेन्द्र बाँस्तोलाका अनुसार इलामलाई खेलकुदको माध्यमबाट परिचित बनाउँदै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पहिलोपटक सदरमुकाम बाहिर फाकफोकथुम गाउँपालिका र पछिल्लो वर्ष माङ्सेबुङ गाउँपालिका, माई नगरपालिकामा आयोजनासहित प्रतिस्पर्धाको संस्कार विस्तार गरिएको थियो । यस कदमले पालिका तहसम्म खेलकुदको आवश्यकताप्रति जनस्तरमा राम्रो प्रभाव परेको उनले उल्लेख गरे ।
अध्यक्ष बाँस्तोलाले यस अवधिमा प्रदेश, संघीय निकाय, स्थानीय तह, खेल संघ संस्था, पत्रकार, सुरक्षा निकाय, विद्यालय, निजी क्षेत्र तथा दातृत्वपूर्ण सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले भने, ‘समितिको उपलब्धिको मूल आधार सहयोग, समन्वय र सामूहिक भावना हो । सबैको साथ, समर्थन र विश्वासका कारण इलाम खेलमा प्रदेशकै अग्रणी जिल्लाको रुपमा उभिन सफल भयो ।’
कोशी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोटमा इलाम जिल्लाले निरन्तर प्रगति गरेको उल्लेख गर्दै उनले भने, ‘२०७९ मा ११औँ स्थानबाट २०८१ मा तेस्रो स्थानसम्म पुग्नु स्वयं खेलकुद क्षेत्रमा आएको उर्जा र लगानीको परिणाम हो ।’
इलाम नगरपालिका वडा नं. ७ मा ५० लाख रुपैयाँको लागतमा जिल्ला खेलकुद विकास समितिको आधुनिक भवन निर्माण सुरु हुनु समिति नेतृत्वकालको महत्वपूर्ण उपलब्धि भएको अध्यक्ष बाँस्तोला बताउँछन् । उक्त भवन संघीय सहरी विकास मन्त्रालयको बजेट तथा स्थानीय नेतृत्वको पहलमा निर्माणाधीन छ ।
उनी भविष्यमा समेत साथ र सहयोगको अपेक्षा रहेको बताउँछन् । ‘खेलकुदको विकास कुनै एक व्यक्तिको लक्ष्य होइन, यो सम्पूर्ण समाजको साझा अभियान हो । भविष्यमा पनि यस्तै साथ र सहयोगको निरन्तरता रहोस् भन्ने हाम्रो अपेक्षा छ ‘ उनको भनाई छ ।

















































